अध्यक्ष बन्न ओलीले गरेको प्रस्ताव नेपालद्वारा अस्वीकार

नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष बन्न अस्वीकार गरेका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीसँगको बिहीबारको भेटवार्तामा नेता नेपालले प्रधानमन्त्रीबाट राजीनामा दिएर ओलीले पार्टी निर्णयका लागि मार्गप्रशस्त गर्नुपर्ने अडान दोहोर्‍याएका हुन् ।

वामदेव गौतमलाई प्रधानमन्त्री र नेपाललाई अध्यक्ष बनाउने प्रस्तावले अहिलेको समस्या समाधान नगर्ने भएकाले नेपालले ओलीलाई स्पष्ट जवाफ दिएको नेकपा नेता रघु पन्तले बताए ।

‘यो प्रस्ताव समस्या समाधान गर्न ल्याइएको नै होइन । मलाई खुइल्याउन, अप्ठ्यारोमा पार्न, पदलोलुप देखाउन ल्याइएको प्रस्ताव हो,’ वरिष्ठ नेता नेपालले भेटमा प्रधानमन्त्री ओलीलाई दिएको जवाफ उद्धृत गर्दै स्थायी समिति सदस्य पन्तले भने, ‘मेरो लडाइँ पदका लागि होइन, पार्टीलाई विधिवत ढंगले चलाउनुपर्छ, पार्टीलाई क्रियाशील बनाउनुपर्छ, प्रधानमन्त्री र अध्यक्ष को हुने भन्ने दोस्रो विषय हो ।’ पार्टीलाई विधिवत ढंगले सञ्चालन गर्न आफूले संघर्ष सुरु गरेको भन्दै नेपालले अन्य कुनै पनि प्रस्ताव अस्वीकार गर्ने बताएको पन्तले जानकारी दिए ।

भेटमा नेता नेपालले प्रधानमन्त्रीले राजीनामा गरेर अहिलेको विवाद समाधान गर्नुको विकल्प नरहेको बताएका थिए । बुधबारको सचिवालय बैठकमा पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल तथा नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा गर्नुपर्ने माग राखेका थिए ।

ओली समूहका नेताहरूसँग सोमबारको सामूहिक वार्तामा पनि नेपाल समूहले दुवै पदबाट ओलीले राजीनामा दिएर निकास दिनुपर्ने माग राखेका थिए । जवाफमा ओली समूहले मन्त्रिपरिषद् पुनर्गठन र मुख्यमन्त्री हेरफेर गर्न सकिने प्रस्ताव अगाडि सारेको थियो । तर, समझदारी नबनेपछि बुधबार सचिवालय बैठक बसेको थियो, जहाँ ओलीले नेपाललाई अध्यक्ष र उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव ल्याएका थिए । ओलीको पछिल्लो प्रस्तावमाथि शनिबारको सचिवालय बैठकमा छलफल हुनेछ ।

दुवै पक्ष थप रणनीति बनाउँदै
वरिष्ठ नेता नेपाललाई अध्यक्ष र उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउने प्रधानमन्त्री ओलीको प्रस्तावपछि दुवै समूहले नयाँ रणनीतिमाथि आन्तरिक गृहकार्य थालेका छन् । ओली समूह सकेसम्म स्थायी समिति बैठक पर सार्ने र प्रचण्ड–नेपाल समूह तत्काल बैठक डाक्ने रणनीतिमा छन् ।

ओलीको प्रस्तावमा गौतम सहमत भएमा सचिवालयको समीकरण बदलिनेछ र नौ सदस्यीय सचिवालयमा प्रचण्ड–नेपालसँग चारजना मात्र हुनेछन् । पूर्वमाओवादी समूहका नेताहरूलाई पनि विश्वासमा लिएर संसदीय दलमा पनि बहुमत बनाउने कसरतमा ओली समूह छ ।

तर, ओलीको प्रस्ताव पनि मूर्त छैन । बुधबारको सचिवालय बैठकपछि सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङलगायतका नेताहरूले प्रधानमन्त्री ओलीलाई भेटेर पछिल्लो रणनीतिबारे छलफल गरेका थिए । ‘उहाँहरूले प्रधानमन्त्रीबाटै हट्नुपर्छ भनेर अडान लिएपछि मैले पनि मपछि वामदेव कमरेडलाई प्रधानमन्त्री बनाउनुपर्छ, तपाईंहरू प्रधानमन्त्री भइसक्नुभएको छ, शीर्ष तहमा रहेका हामीमध्ये नभएको वामदेव नै हुनुहुन्छ, उहाँलाई बनाऊँ भन्ने हिसाबले छलफलका दौरानमा आफ्नो भनाइ राखेको हुँ,’ भेटपछि प्रधानमन्त्रीलाई उद्धृत गर्दै एक नेताले भने, ‘त्यस्तै, अध्यक्षको हकमा पनि महाधिवेशनबाट एउटा टुंगोमा पुग्ने कुरा छँदै छ । सुरु गरिएको एकता प्रक्रिया टुंगिएको छैन, बीचमै भत्काउने कुरा पनि भएन । तर, प्रचण्डको पनि कुरा त्यही हो भने तीनजना अध्यक्षका रूपमा एकजना माधव कमरेडलाई राखौँ भन्नेसम्मको कुरा भएको हो ।’

दुई अध्यक्ष र नेताहरूबीचको अनौपचारिक छलफलपछि मात्र ठोस एजेण्डा बन्ने र शनिबार बस्ने सचिवालयमा प्रस्तुत हुने ओलीले आफूनिकट नेताहरूलाई बताएका छन् । संसदीय दलका उपनेता नेम्वाङले पनि अप्ठ्यारो परिस्थितितर्फ मुलुकलाई जान नदिन प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच बाक्लो संवादमार्फत अबको एजेण्डा तय हुनुपर्ने बताए ।

‘प्रधानमन्त्रीले राख्नुभएको प्रस्ताव ठीक कि बेठीकभन्दा पनि दुई अध्यक्षबीचमा छलफल गर्नुस्, निष्कर्षमा पुग्नुस्, अहिले ठीक ढंगले निष्कर्षमा पुग्न सकेनौँ भने जनताको मतमाथि धोका हुन सक्छ भन्ने मेरो आग्रह रहन्छ,’ नेम्वाङले भने ।

पछिल्ला घटनाक्रम र प्रधानमन्त्रीको प्रस्तावले पूर्वएमाले र पूर्वमाओवादी समूहका नाममा हुँदै आएका छलफल र बहसको च्याप्टर बन्द भएकाले यसलाई अहिलेको ठूलो उपलब्धिका रूपमा लिनुपर्ने बताउँछन् नेकपा स्थायी समिति सदस्य हरिबोल गजुरेल । ‘अध्यादेश फिर्ता भएपछि कमसेकम पार्टी फुटबाट बचेको छ’ उनले भने । सचिवालयकै नेताहरूबीच वरिपरि घुमिरहने प्रस्ताव र छलफलको कुनै अर्थ नभएकाले छिटो स्थायी समिति बोलाउनुको विकल्प नभएको पनि उनले बताए ।

केन्द्रीय सदस्य विष्णु रिजालले प्रधानमन्त्री ओलीको प्रस्तावले संस्थागत निर्णयसहित अघि बढ्ने ढोका खुलेको बताए । ‘प्रधानमन्त्रीको प्रस्तावले पहिलो, एक्लै जान सकिन्न भन्ने महसुस गरेको देखिन्छ, त्यो राम्रो हो । दोस्रो, म प्रधानमन्त्री पदमा रहिनँ भन्ने कुरा पार्टीसमक्ष कबुल गरिसकेकाले अब के गर्ने भन्ने कुरा पार्टीले आफ्नै हिसाबले छलफल गरेर तय गर्छ । २० गतेको बैठकबाट केही प्रस्ताव पनि आउला,’ रिजालले भने, ‘उहाँले लकडाउन सामान्य भएपछि राजीनामा दिन्छु भनिसकेपछि दुई–चार दिन पर्खिने कुराचाहिँ ठूलो भएन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *