अध्यादेश विरुद्ध सबै एकजुट हुनुपर्छ : उपेन्द्र यादव

संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीले जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेश मुलुकमा अस्थिरता ल्याइ लोकतन्त्रलाई समाप्त पार्ने र देशलाई दुर्घटनामा लैजाने रणनीति भएको बताएका छन् ।

मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै यादवले कोरोना भाइरसबाट बच्न देशका जनताले लकडाउनको पीडा भोगिरहेको बेला पार्टी फुटाउने अध्यादेश ल्याउनुमा केही षडयन्त्र लुकेको उल्लेख छ । उनले भने, ‘यो अध्यादेशले मुलुकमा राजनीतिक अस्थिरता ल्याउने र लोकतन्त्रलाई समाप्त पार्नु बाहेक अर्को काम गर्न सक्दैन ।’

जनताको ठुलो त्याग, तपस्या र बलिदानीबाट प्राप्त संघीयता, गणतन्त्र र समावेशितालाई धरापमा पार्न र सिंगो मुलुकलाई नै द्वन्द्वमा धकेल्नको लागि यो अध्यादेश आएको आरोप लगाउँदै उनले अध्यादेश लोकतन्त्र र संविधानको भावना विपरित भएकाले सरकारले फिर्ता लिनु पर्नेमा जोड दिएका छन् ।

कोरोना महामारीबाट जनताको जीवन रक्षा गर्दै लोकतन्त्रको रक्षा र राष्ट्रिय हितको लागि सरकारले चालेको गैर लोकतान्त्रिक कदम विरुद्ध एकताबद्ध हुन जनता र लोकतान्त्रिक शक्तिसँग यादवले आग्रह समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *