अब नदीमा ढल मिसाए पाँच लाख रुपैयाँ जरिवाना

३१ वैशाख, काठमाडौं । सरकारले प्रशोधनविना सिधै नदीमा ढल मिसाउनेलाई ५ लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्थासहितको कानुनको तयारी गरेको छ । सरकारले यो व्यवस्थासहितको खानेपानी तथा सरसफाइसम्बन्धी विधेयक, २०७६ माथि संसदीय समितिले लगभग सहमति जुटाएको छ ।

विधेयकमा मानव मलमूत्र खोलामा मिसाए, खानेपानीको पाइपबाट कुनै यन्त्र जडान गरी अनाधिकार पानी प्रयोग गरे, अनुमति प्राप्त संस्थाले निर्धारण गरिएको महसुल वा निर्धारित आधार र मापदण्ड विपरीत महसुल लिए एक वर्ष कैद र पाँच लाखसम्म जरिवाना गर्ने वा दुवै सजाय गर्न प्रस्ताव गरिएको छ ।

त्यस्तै, सरकारले कानुनी रुपमा नै खानेपानीको निर्यात र व्यापार गर्न बाटो खोल्ने गरी विधेयक तयार पारेको छ । केही समय अघि प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालको पानी विदेश निर्यात गरिने बताए अनुरुपकै व्यवस्थासहित विधेयक तयार पारिएको हो ।

विधेयकमा नेपाल सरकारबाट अनुमतीप्राप्त संस्थाले खानेपानी निर्यात गर्न पाउने व्यवस्था राखिएको छ । विधेयकको दफा ५१ मा भनिएको छ, ‘नेपाल सरकार वा अनुमतिप्राप्त संस्थाले बोतलबन्द वा थोक खानेपानीको निर्यात तथा व्यापार गर्न सक्नेछ ।’

विधेयकमा खानेपानी सेवामा निजी क्षेत्रको संलग्नता बारेमा पनि उल्लेख गरिएको छ । हाल प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा छलफलमा रहेको उक्त विधेयकमा निश्चित मापदण्डका आधारमा खानेपानी सेवा र ढल निकास सेवा निजी क्षेत्रले समेत गर्न पाउने व्यवस्था राखिएको हो ।

सशुल्क रुपमा खानेपानी एवं ढल निकासीको सेवा दिने निजी क्षेत्रले प्रशोधनपश्चात् ढलबाट निस्किएको शुद्ध पानीलाई नदीमा मिसाउन समेत पाउने व्यवस्था प्रस्ताव गरिएको छ ।बुधबार बसेको विकास समितिको बैठकले खानेपानी तथा सरसफाइसम्बन्धी विधेयकको धेरै व्यवस्थामा सहमति जुटाएको छ ।

यो विधेयकले ऐनको मान्यता प्राप्त गरेपछि अनुमति नलिई खानेपानी तथा सरसफाइ सेवा सञ्चालन गरे एक लाख रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ । थोक, ट्यांकर वा बोतलबन्दी रुपमा खानेपानी उपलब्ध गराउने कामलाई खानेपानी सेवा अन्तर्गत राखिएको छ । यो ऐन बनेपछि ट्यांकर र जारमा पानी बेच्नेले पनि अनुमति लिनुपर्छ ।विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *