अमेरिकामा कोरोनालाई जितेकी नर्सको अनुभव : १०–१२ जनाले पिटे जस्तो हुन्थ्याे, नुहाउँदा पानीले समेत दुखाउँथ्यो

आजको यो शुभ बिहानी मेरो आफ्नो कोरोनाले छाडेका अनुभव साट्न चाहन्छु । सुन्दर चरीको मधुर अनि सुन्दर चीरबीर आवाज सुन्दै, पंक्षीहरुको महफिल भन्न चाहन्छु । साथै मेरो आफ्नो त्यो अवस्थामा गुज्रेका अनुभव बाँड्न मेरा अक्षर आतुर छन्, यो उषामा आज । जीवन जिउँदै जाँदा हरेक उकाली/ओराली पार गर्नु सृष्टिको देन हो । मेरो जन्मअघि म कहाँ थिए ? र मृत्युपश्चात म कहाँ पुग्छु ? मलाई थाहा छैन् । हामी आ-आफ्नै विश्वासमा चलेका छौं । हामीले स्वर्ग र नरकको निर्माण गरेका छौं । जुन हाम्रो विश्वास हो ।

केही हदसम्म विश्वासले काम गरिरहेको हुन्छ । तर सबैलाई नगर्न सक्छ । यसैले त सिद्धार्थ गौतम “बुद्ध“ मा रुपान्तरित हुनुभयो र आफैँले सत्यको खोजी गर्नु भो । एउटा अकाट्य सत्य के हो भने जन्मेको क्षणमा जुन हामीले पहिलो श्वास लिन्छौं त्यसै दिनदेखि अन्तिम श्वासको गिन्ती शुरु भएको हुन्छ । यो साक्षात विधिको विधानलाई सम्झन सक्यौं भने हामी बाँचेर मात्र मर्नेछौं । मर्न अघि नै मर्ने छैनौं, प्रत्येक पल उत्सवको रुपमा लिँदै आनन्दले जीवन जिउने छौं ।

प्रेमको अनुभव, मृत्युको भय
जुन अवस्थाले यो पृथ्वी गुज्रिरहेको छ, म किन अछुतो हुन्थें र ? विश्वका ठूला भनिने देश, ठूला भनिने हरेक व्यक्ति त्रासमा जिइरहेका छन् । यो अदृश्य शक्ति कोरोना भाइरसले न दरबार छोड्यो, न सडकका पेटीमा कटौरामा आएका सुका–मोहरमा जीवन धानी रहेकालाई छोड्यो । हामी सबैलाई चेतना भयो होला आज कि, धन, दौलत, मान, सम्मान घटीबढी होला तर मृत्यु समान हो । हरेक हृदयले अनुभव गर्ने प्रेमको भाव, दुख र सुखको भाव हरेक प्राणीमा उही हो । मानिस हुन् या जंगलका जीवजन्तु ईश्वरले प्रेमको अनुभव र मृत्युको भय बराबर दिनु भएको छ । हाम्रो बुझ्ने चेतनाले बुझ्न र अनुभव गर्न नसकेको हो भन्दा सायद दुई मत नहोला ।

म एक नर्स हो, जन्म र मृत्युको साक्षी । मृत्युको क्षणको पीडा पनि देखेको छु । बच्चा जन्मदाको हर्षोल्लास पनि देखेको छु । कहिलेकाहीं लाग्छ, अस्पताल जन्म र मृत्युको जक्सन हो । जहाँ एन्ट्री र एक्जिट द्वार छ । मलाई कोरोनाको लक्षण देखिँदा म काममै थिएँ । काममा सबै जनामा अन्योल, अनिश्चय, भय, त्रास थियो नै । तर पनि आफ्नो काम गरिरहेका थियौं । एक जना साथीले आ-आफ्नो ज्वरो नापौं भन्नु भो। कसैको ३५ आयो, कसैको ३६ आयो तर मेरो करिब ३८ थियो, मेरो शरीर दुख्न शुरू भइसकेको थियो । मैले मलाई त ज्वरो छ, कोरोना हो कि के हो भन्दा सबै जनाले जिस्काए । जीउ धेरै असजिलो भएजस्तो भो, अलि-अलि खोकी पनि थियो, अनि सिटामोल खाएँ ।

घर आएँ अनि खाना खाएर सुतें । करिब मध्यराततिर शरीर काँपीरहेको रहेछ । जिउमा असह्य पीडा अनि काम ज्वरो सुरु भयो । ज्वरो नाप्दा ३९ रहेछ । तुरुन्त ज्वरोको औषधि खाएँ । बिहान करिब ५ बजे १११ मा फोन गरेँ, जवाफ आयो तपाईं तुरुन्त आइसोलेसनमा बस्नोस्, श्वास फेर्न गारो भो भने तुरुन्त हामीलाई फोन गर्नोस् । मैले बुझिहालें यो भाइरसको असर बढ्न नदिने घरेलु उपचार नै हो । छोराछोरीलाई जीरा, अदुवा, बेसार, दालचिनी पानी पकाउन भनें, अनि अलिकति नुन हालेर तातो/तातो पानी दिनको तीनपटक पिउन थालें । हजुरमुमाको खुब याद आयो । उहाँ धेरै अघि स्वर्गवास भै सक्नु भो। सानोमा रुघाखोकी लाग्दा त्यसरी नै पानी खुवाउनु हुन्थ्यो । तात्तातो खाऊ, आत्था–आत्था गर्दै भाग्छ भन्नु हुन्थ्यो । तर के भाग्थ्यो भन्नु हुन्थेन । उहाँको प्रेम अनि उहाँलाई सम्झँदै तात्तातो पानी पिउन थालें । मनतातो नुनपानीले मुख कुल्ला गर्न थालें । टुथ ब्रसले जिब्रोको तल्लाे भागलाई बिस्तारै कोतरेर सफा गर्थें, हरेक बिहान । बेलुका तातो दूध, मह र बेसार पिएर सुत्थें जसले मिठो निन्द्रा दिन्छ र बेसारले ‘एन्टी सेप्टिक’ को काम गर्छ । मलाई राति गाह्राे बनाउँथ्यो । जरोपछि शरीर पूरै पसिनाले भिज्थ्यो ।

मुखमा स्वाद भने पटक्कै थिएन । ज्वरो करिब ७ दिन आयो र हल्का ज्वरो र खोकी १२ दिनसम्म रह्यो। खाना छिन छिनमा खान्थें । फ्रिजम़ा नराखेको जुस प्रशस्त पिउथें । पानी मन तातो पिउथें । शरीरमा संक्रमण छ त्यसैले पहिलेको भन्दा धेरै खानुपर्छ भन्ने ज्ञान थियो । अर्को के पनि ज्ञान थियो भने शरीरले मलाई बचाउन सक्दो प्रयास गर्नेछ । मैले शरीरलाई प्रेम गर्नुपर्छ र शरीरले मलाई प्रेम गर्छ भन्ने पूर्ण विश्वास थियो । खोकी लागिरहेको थियो । छाती, घाँटी, नाक, कन्चटतिर लगातार सन्चो लगाउँथें तर त्यति गन्ध आउँथेन। पानीको वाफ लिन्थें । पेटमा गडबडी पनि भयो, उल्टी पनि गरेँ । पखाला पनि लाग्यो तर एक दिन मात्र । तर पनि खाना खान छाडिन । मुख साह्रै तीतो हुन्थ्यो । तीन साता पूरा भई सक्यो तर पनि स्वाद फर्किसकेको छैन् । शरीर यति दुख्योकी, १०/१२ जनाले पिटेर फालिदिएको जस्तो अनुभव हुन्थ्यो । नुहाउँदा पानीको फोहोराले समेत दुखाउँथ्यो । एउटै घरमा बसेपछि परिवार किन अछुतो हुन्थ्यो र मेरो छोरोलाई पनि संक्रमण भयो । अहिले हामी स–परिवार ठिक छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *