अमेरिकामा कोरोना भाइरसबाट पहिलो मृत्यु सोचेभन्दा हप्ता दिन अघि नै भएको खुलासा

क्यालिफोर्नियामा गरिएको एक अटोप्सी रिपोर्टले अमेरिकामा कोरोना भाइरसबाट मानिसहरूको मृत्यु यसअघि बताइएको भन्दा हप्ता दिन अगाडि नै सुरु भएको खुलासा गरेको छ।

सियाटल राज्यमा फरवरी २६ मा भएको मृत्युलाई कोरोनाबाट कुनै व्यक्ति मरेको पहिलो अमेरिकी घटना ठानिएको थियो। तर, सान्टा क्लारा काउन्टीबाट आएको नयाँ जानकारीले त्यसअघि नै अमेरिकामा कोरोनाबाट मानिसहरू मर्न थालेको खुलासा गरेको हो। यस्तै क्यालिफोर्नियामा कोरोनाका कारण पहिलो मृत्यु मार्च ४ मा भएको थियो।

फरवरी ६ र १७ मा मरेका दुई मानिसहरूको अटोप्सी रिपोर्टले उनीहरूको मृत्यु कारण कोभिड-१९ भएको पुष्टि गरेको बिबिसीमा प्रकाशित समाचारमा उल्लेख छ। अटोप्सीका लागि उनीहरूको नमुना अमेरिकी रोग नियन्त्रण तथा रोगथाम केन्द्र पठाइएको थियो। केन्द्रले मंगलबार उनीहरूमा कोरोना भाइरस भेटिएको जानकारी दिएको हो।

यसैगरी मार्च ६ मा मरेका सान्टा क्लारा अर्का मानिस पनि कोरोनासँग सम्बन्धित रहेको पाइएको छ। ‘सिमित परीक्षण उपलब्ध भएका बेलामा उनीहरूको घरमै मृत्यु भएको थियो’, केन्द्रले भन्यो।

त्यतिबेला यो परीक्षण केन्द्रको माध्यमबाट मात्र गर्न मिल्थ्यो। सो समयमा लक्षण देखिएका र यात्रा गरेको प्रमाणित भएका मानिसहरुको मात्र नमुना परीक्षण गरिएको थियो।

केन्द्रले कोरोनाका कारण थप मानिसहरूको मृत्यु भएको हुनसक्ने बताएको छ। सान्टा क्लारा काउन्टीमा थप मृत्युको अनुसन्धान गरिने केन्द्रले जनाएको छ। विश्वमा कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित बनेको अमेरिकामा हालसम्म ८ लाख २५ हजार बढी मानिसमा संक्रमण पुष्टि भइसकेको छ भने ४५ हजार बढीको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *