अमेरिकाले कोरोना महामारीपछि पनि विश्व स्वास्थ्य संगठनलाई सहयोग रोक्न सक्छ: विदेशमन्त्री पोम्पेओ

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को पुनर्संरचना गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। पोम्पेओले डब्लुएचओलाई अमेरिकाले अहिले रोकिएको आर्थिक सहयोग कोरोनाभाइरस महामारीपछि पनि रोकिइरहन सक्ने बताए। डब्लुएचओको विकल्पमा अर्को कुनै संस्था बनाउने पनि उनको भनाइ छ।

पोम्पेओले डब्लुएचओमाथि गरेको यो हमलालाई अमेरिकाको हाउस अफ रिप्रिजेन्टेटिभ्सका डेमोक्रयाटिक सासंदहरूले महामारी नियन्त्रणमा आफ्नो कमजोरी लुकाउन ट्रम्प प्रशासनले संस्थालाई ‘बलीको बोको’ बनाउन खोजेको आरोप लगाएका छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पत्र लेख्दै उनीहरूले अमेरिकी सहयोग यथावत् गर्न माग गरेका छन्। गत साता ट्रम्पले डब्लुएचओ चीनको पक्षमा लागेको र महामारीबारे समयमै सूचना नदिएको आरोप लगाउँदै आर्थिक सहयोग बन्द गरेका थिए।

पोम्पेओले बुधबार फक्स न्युजलाई कमीकमजोरीहरू सच्याउन डब्लुएचओको संरचनामा परिवर्तन आवश्यक रहेको दाबी गरे। ‘यदि संस्थाले आफ्नो काम राम्रोसँग गर्छ भने संयुक्त राज्य अमेरिकाले जहिले पनि नेतृत्व लिनेछ र त्यसको एक हिस्सा हुनेछ। जब सही सूचना चाँडै सञ्चार हुँदैन तब अपेक्षित परिणामहरू प्राप्त गर्न असफल भइन्छ, हामी विश्वका अन्य साझेदारहरूसँग नयाँ संरचनाबारे छलफल गर्नेछौं’, उनले भने।

डब्लुएचओले भने बारम्बार ट्रम्प प्रशासनको आरोपलाई अस्वीकार गर्दै आइरहेको छ। चीनले समेत यस विषयमा आफू पारदर्शी र खुला रहेको बताउँदै आएको छ।

अन्तर्राष्ट्रिय विकासको अमेरिकी नियोगका कार्यवाहक प्रमुखले बुधबार संयुक्त राज्यले डब्लुएचओ राम्ररी सञ्चालन भए-नभएकोबारे अध्ययन गर्नुपर्ने र योभन्दा बाहिरको साझेदारको पनि खोजी गर्नुपर्ने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *