अमेरिका र ४ युराेपेली देश- जहाँ मात्रै कोरोनाका कारण १ लाख ७६ हजारकाे ज्यान गयाे

काठमाडौँ, २२ वैशाख । नोबल कोरोना भाइरसको विश्वव्यापी महामारीले ल्याएको रोग कोभिड-१९ का कारण विश्व यतिवेला संकटग्रस्त अवस्थाबाट गुज्रिरहेको छ । चीनबाट सुरु भएको यो महामारीका कारण अहिलेसम्म विश्वभरि कुल २ लाख ४८ हजारभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् । हाल यस भाइरसकाे संक्रमण ३५ लाख ६३ हजारभन्दा बढीमा फैलिसकेकाे छ ।

युरोप र अमेरिकामा काेभिड-१९ का कारण सर्वाधिक जीवन क्षति भएको छ । ४ युरोपेली देश र १ उत्त्रअमेरिकी देशमा मात्रै १ लाख ७६ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ । त्यसको पनि झण्डै आधा संख्यामा संयुक्त राज्य अमेरिकामा मात्रै मानिसहरुको मृत्यु भएको छ ।

संयुक्त राज्य अमेरिका : कोभिड १९ का कारण सबैभन्दा बढी ज्यान गुमाउनेमा संयुक्त राज्य अमेरिका रहेको छ । त्यहाँ यो समाचार चयार पार्दासम्म ६८ हजार ५९८ जनाले कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाइसकेका छन् । अमेरिकामा कोरोना भाइरसका संक्रमितको संख्या पनि विश्वमै सर्वाधिक रहेको छ ।

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार हालसम्म अमेरिकामा कोरोना संक्रमितको संख्या ११ लाख ८८ हजारभन्दा बढी पुगेको छ । त्यहाँ पछिल्लो २४ घण्टा अर्थात् आइतबार मात्र २७ हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् भने १ हजार १५४ को मृत्यु भएको छ । त्यहाँ कुल संक्रमितमध्ये १ लाख ७८ हजारभन्दा बढी पूर्णरुपमा निको समेत भइसकेका छन् ।

इटाली : युरोपेली देशहरुमध्ये कोभिड १९ का कारण सबैभन्दा बढी ज्यान गुमाउनेमा इटाली रहेको छ । त्यहाँ हालसम्म २८ हजार ८८४ जनाले कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाइसकेका छन् । यद्यपि पछिल्लो तथ्यांक हेर्दा त्यहाँ कोरोना भाइरसका नयाँ केस र दैनिक मृत्यु संख्यामा निकै कमी आइरहेको छ ।

इटालीमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या २ लाख १० हजार ७१७ पुगेको छ । त्यहाँ आइतबार मात्र १ हजार ३८९ नयाँ संक्रमित फेला परेका छन् भने १७४ को मृत्यु भएको छ । हाल त्यहाँ कुल संक्रमितमध्ये ८१ हजार ६५४ जना पूर्णरुपमा निको समेत भइसकेका छन् ।

बेलायत : बेलायतमा पछिल्लो समय कोभिड १९ का बिरामी र दैनिक मृत्यु संख्या अघिल्ला दिनहरुको तुलनामा घटिरहेको छ । तथापि कुल मृत्यु संख्यामा यो देश स्पेनभन्दा माथि उक्लिसकेको छ । हालसम्म बेलायतमा कोरोनाका कारण २८ हजार ४४६ जनाले ज्यान गुमाइसकेका छन् ।

पछिल्लो तथ्यांक अनुसार त्यहाँ हालसम्म कोरोना भाइरस संक्रमितको संख्या १ लाख ८६ हजार ५९९ पुगेको छ । त्यहाँ आइतबार मात्र ४ हजार ३३९ नयाँ संक्रमित फेला परेका छन् भने ३१५ को मृत्यु भएको छ । हाल त्यहाँ कुल संक्रमितमध्ये कतिजना निको भए भन्ने खुल्न सकेको छैन ।

स्पेन : कोरोना भाइरस संक्रमणका दृष्टिले युरोपेली देशहरुमध्ये स्पेन पहिलो लहरमा रहेको छ । त्यहाँ कोभिड १९ का कारण ज्यान गुमाउनेको संख्या भने इटाली र बेलायतपछि तेस्रो नम्बरमा रहेको छ । स्पेनमा हालसम्म कोरोना संक्रमणका कारण २५ हजार २६४ जनाको ज्यान गइसकेको छ । यद्यपि पछिल्लो तथ्यांक हेर्दा त्यहाँ पनि कोरोना भाइरसका नयाँ केस र दैनिक मृत्यु संख्यामा निकै कमी आइरहेको छ ।

हालसम्म स्पेनमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४७ हजारभन्दा बढी पुगेको छ । त्यहाँ आइतबार मात्र १ हजार ५३३ नयाँ संक्रमित फेला परेका छन् भने १६४ को मृत्यु भएको छ । हाल त्यहाँ कुल संक्रमितमध्ये १ लाख ४८ हजार ५५८ जना पूर्णरुपमा निको समेत भइसकेका छन् ।

फ्रान्स : अर्को युरोपेली देश फ्रान्स पनि कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावितमा पर्दछ । त्यहाँ कोरोना भाइरस संक्रमणका २४ हजार ८९५ जनाले ज्यान गुमाइसकेका छन् । यद्यपि पछिल्लो तथ्यांक हेर्दा त्यहाँ पनि कोरोना भाइरसका नयाँ केस र दैनिक मृत्यु संख्यामा निकै कमी आइरहेको छ।

फ्रान्समा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या १ लाख ६८ हजार ६९३ पुगेको छ । त्यहाँ आइतबार २९७ मात्र नयाँ संक्रमित फेला परेका छन्, तर दैनिक मृत्यु संख्या भने आइतबार १३५ रहेको छ । हाल त्यहाँ कुल संक्रमितमध्ये ५० हजार ७८४ जना पूर्णरुपमा निको भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *