अमेरिकी कम्पनीले ११ हजार करोड भारुमा किन्यो जियोको २.३२ प्रतिशत सेयर

अमेरिकाको निजी इक्विटी फर्म भिस्टा इक्विटी पार्टनर्सले रिलायन्स इन्डस्ट्रीज लिमिटेड (आरआईएल) को डिजिटल प्ल्याटफर्म जियोमा २.३२ प्रतिशत हिस्सेदारी खरिद गरेको छ । करिब ११ हजार ३६७ करोड भारतीय रुपैयाँमा भिस्टा हिस्सेदारी खरिद गरेको हो । यो निवेश जियोको इक्विटी मूल्य ४.९१ लाख करोड भारु र इन्टरप्राइज मूल्य ५.१६ लाख करोड भारुमा गरिएको हो । रिलायन्लस जियोमा हिस्सेदारी खरिद गर्ने भिस्टा दोस्रो ठूलो कम्पनी बनेको छ ।

रिलायन्स इन्डस्ट्रीज लिमिटेडका अध्यक्ष मुकेश अम्बानीले भिस्टालाई कम्पनीको महत्त्वपूर्ण साझेदारको रुपमा स्वागत गर्न पाउँदा आफूलाई खुसी लागेको बताएका छन् । भिस्टा इक्विटी पार्टनर्स विश्वको पाँचौ ठूलो इन्टरप्राइजेज सफ्टवेयर कम्पनी हो । योसँग ५७ बिलियन डलरभन्दा बढी अनुमानित पुँजी रहेको बताइन्छ ।

मुकेश अम्बानी आरआईएलाई कर्जामुक्त कम्पनी बनाउन चाहन्छन् । यसका लागि कम्पनीको शेयर बेचिदैछ । अम्बानीले १० दिनभित्र कम्पनीको १३.४६ प्रतिशत सेयर बेचिसकेका छन् । यसअघि, फेसबुकले ४३ हजार ५७४ करोड भारुमा जियोको ९.९९ प्रतिशत सेयर खरिद गरेको थियो । त्यस्तै, सिल्भर लेक कम्पनीले ५ हजार ६५६ करोड भारुमा जियोको १.१५ प्रतिशत सेयर खरिद गरेको थियो । हालसम्म सेयर बिक्री गरेर रिलायन्स कम्पनीले ६० हजार ५९७ करोड भारतीय रुपैयाँ प्राप्त गरेको छ ।रिलायन्सले चालू आर्थिक वर्षको पहिलो त्रैमाशिकमा १ लाख करोड भारतीय रुपैयाँ जुटाउने लक्ष्य लिएको छ ।
स्रोत : दैनिक भास्कर

Leave a Reply

Your email address will not be published. Required fields are marked *