अमेरिकी ग्रीनकार्ड सुविधा स्थगित

एजेन्सी, १० वैशाख । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासनमा लगाइएको रोक ६० दिनसम्म कायम रहने र ग्रीनकार्ड अर्थात्‌ स्थायी बसोबासका आकाङ्क्षी विदेशी नागरिकका हकमा मात्रै त्यो लागु हुने बताएका छन् ।

सोमबार राति अस्पष्ट ट्वीट गर्दै ट्रम्पले उक्त कदमले रोजगारी गुमाएका अमेरिकीहरूको रक्षा गर्ने दाबी गरेका थिए । पछिल्लो आदेश अस्थायी रूपमा अमेरिका प्रवेश गर्नेहरूको हकमा चाहिँ लागु नहुने बिबिसीले जनाएको छ ।

नियमित पत्रकार सम्मेलनका क्रममा उनले लाखौँ अमेरिकीहरुले कोरोनाभाइरसको सङ्क्रमणसँग जुझ्न र एकअर्काको ज्यान जोगाउन रोजगारी त्याग गरेको बताएका थिए । उनले ग्रीनकार्डका आकाङ्क्षी विदेशी नागरिकमाथि लगाइने भनिएको रोक अमेरिकी अर्थतन्त्रको अवस्था हेरेर लम्ब्याइन सक्ने समेत बताएका छन् ।

ट्रम्पका अनुसार यस विषयमा कार्यकारी आदेशको लिखित दस्तावेज तयार गर्ने काम भइरहेको र ह्वाइट हाउसका वकिलहरूले बुधबार (आज)सम्म त्यसलाई हस्ताक्षरयोग्य बनाउने सम्भावना छ ।

यससँगै कोरोनाभाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि आफ्नो प्रशासनले गरेका कामबाट ध्यान मोड्न ट्रम्पले पछिल्लो कदम चालेको आलोचकहरूले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *