अस्पतालबाट फर्केपछि प्रधानमन्त्री ओलीले सीमित भेटघाट गर्ने

काठमाडौं, २८ फागुन। प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएपछि पनि सीमित भेटघाट गर्ने भएका छन्। प्रधानमन्त्री ओलीले अघिल्लो बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेर त्रिवि शिक्षण अस्पतालमा छन्।

अस्पतालमा उनले चिकित्सकबाहेक अरुलाई भेटेका छैनन्। बुधबार भने उनलाई मिर्गौला दिने भाञ्जी समीक्षा संग्रौलाको भेट गराउने तयारी छ। साथै प्रधानमन्त्री ओलीलाई छिट्टै डिस्चार्ज गरिने उपचारमा संलग्न चिकित्सकहरुले बताए।

प्रधानमन्त्री निवास बालुवाटार गइसकेपछि पनि प्रधानमन्त्री ओलीले केही समय सीमित भेटघाट गर्ने उनको निजी सचिवालयले जनाएको छ। चिकित्सकहरुले कम्तीमा एक महिना रुघाखोकी लागेका तथा अरु संक्रमण भएका व्यक्तिहरुसँग नजिकबाट भेटघाट नगर्न र आराम गर्न सल्लाह दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *