अस्वाभाविक चुनौती सामना गर्न एकता अपरिहार्य : पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्रले विद्यमान संकटबाट मुक्ति पाउन र भविष्यमा उत्पन्न हुने अस्वाभाविक चुनौतीहरुको सामना गर्न एकता अपरिहार्य भएको बताएका छन्। मानवीय वा प्राकृतिक विपत्तिको अन्त्य गर्दै नुतन इतिहास रच्ने सफलता नेपालीलाई प्राप्त होस् भनी उनले नयाँ वर्ष २०७७ शुभकामना दिएका छन्। उनले सन्देशमा कसैले कसैलाई निषेध गरेर जाने सोचको आयु समाप्त भएको धरातलीय यर्थाथलाई आत्मस्वीकार गर्न आग्रह गरेका छन्।

उनले सन्देशमा भनेका छन् – राष्ट्रिय भाव र एकता प्रवलिकरणको मार्ग स्पष्ट गर्न अब पनि सकेनौं भने इतिहासमा अर्को एउटा महाभूल हुनेछ। कोरोना भाइरसको विश्‍व्‍यापी महामारीबाट देशका विभिन्न भूभागमा र विश्वका विभिन्न देशमा रहेका सबै नेपाली आक्रान्त, सन्त्रास्त र समस्याग्रस्त रहेको उल्लेख गर्दै यस्तो स्थितिमा देश र आफूलाई सुरक्षित राख्न र बचाउ गर्दै हामी सबैले सजगता अपनाउन उलने आग्रह गरेका छन्।

पूर्वराजाले भनेका छन् – नेपाली जनता खुसी र सुखी रहून् एवम् देशको शिर सधैं सगरमाथाझैं उच्च रहोस् भन्ने नै हाम्रो अटल चाहना थियो, छ र रहनेछ। आफुलाई गौण बनाएर देशको सर्वोच्चताको रक्षार्थ राष्ट्र र नेपाली जनताप्रति पर्नसक्ने विभिन्न समयका खतराहरु टार्न हामीले हरसम्भव प्रयास गरेको सर्वविदितै छ।

मानव स्वास्थ्यलाई यसै शताब्दिमा सबैभन्दा ठूलो खतरा सामना गर्नुपरेको भन्दै पूर्वराजा शाहले नेपालीहरुले शान्त भएर सामूहिक रुपले राष्ट्रव्यापी रक्षाको पर्खाल कार्यान्वयन गरेको स्मरण गराएका छन्। साथै उनले हाम्रा मौलिक सनातनिक सभ्यताको पुनर्जागरण, वर्तमानको अनिवार्य चाहना र आवश्यकता बनिरहेको छ भन्दै यही जगमा उभिएर नेपाली समाजको व्यवस्था, अर्थ व्यवस्था र शिक्षाको जगाधार बलियो तुल्याउन राष्ट्रिय प्रतिबद्धता लिनुपर्ने उल्लेख गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *