आजदेखि घर बाहिर निस्कन प्रतिबन्ध, विना पासका सवारी सञ्चालनमा रोक

धनगढी : गृह मन्त्रालयका निर्देशनपछि कैलालीमा लकडाउनमा आजदेखि कडाई गरिएको छ। गृह मन्त्रालयले कोरोना भाइरसको संक्रमणको प्रसार रोक्न गरेको लकडाउन उल्लंघन बढेपछि सुरक्षा निकाय र स्थानीय प्रशासनलाई परिपत्र गरेपछि कैलालीमा पनि कडाई गरिएको स्थानीय प्रशासनले जनाएको छ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले पछिल्लो समय स्थानीय तह र सासंदहरुको समन्वयमा विना पासका गाडी सञ्चालन भएपछि लकडाउनको उल्लंघन बढेको बताउँदै आज बिहानदेखि लकडाउनमा कडाई गरिएको बताए।

गृह मन्त्रालयले विना पासका गाडी रोक्न निर्देशन दिईसकेको बताउँदै प्रमुख जिल्ला अधिकारी बोहराले अत्यावश्यक सेवा मात्रै सञ्चालन गरिने बताए। आजदेखि अत्यावश्य काम बाहेक बाहिर निस्कन समेत रोक लगाईएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले भने, ‘पास विनाको सबै सवारी साधन सञ्चालनमा रोक लगाउन निर्देशन भएको छ। सोही अनुसार आजदेखि लकडाउनमा कडाई हुन्छ। अत्यावश्यक काम बाहेक बारिह ननिस्कन आग्रह गर्दछौ।’

कैलालीमा लकडाउनसंगै स्थानीय प्रशासनले चैत १० गतेदेखि निषेधाज्ञा पनि जारी गरेको थियो। जिल्लामा अहिले पनि निषेधाज्ञा जारी छ। निषेधाज्ञा उल्लंघन भए करवाहीको दायरामा ल्याउने स्थानीय प्रशासनले जनाएको छ। कैलालीमा हिजो मात्रै १८ जनालाई कारवाही गरिएको थियो भने ९१ सवारी साधन नियन्त्रणमा लिईएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *