आज २५६४ औं बुद्ध जयन्ती, काेराेना त्रासदीबीच प्रार्थना र पूजापाठ गरी मनाइँदै

काठमाडौं, २५ वैशाख । आज २५६४ औं बुद्ध जयन्ती, बाैद्ध धर्मावलम्वीहरूले घरघरमै विशेष स्मरण गरी मनाउँदै छन् । यस वर्ष काेराेना भाइरसकाे महामारीकाे त्रासदीबीच कुनै अाैपचारिक कार्यक्रम भने राखिएका छैनन्, शान्तिकाे कामना व्यक्तिगत रूपमै बुद्ध जयन्ती मनाइँदैछ।

शान्तिका अग्रदूत एवं एशियाका ताराकाे रूपमा प्रसिद्ध महामानव गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका रूपमा महत्वका साथ स्मरण गर्ने गर्छन् ।कोरोना भाइरसको जोखिमका कारण यस वर्षको बुद्धजयन्ती प्रार्थना र पूजापाठ गरी सीमित व्यक्तिहरुका बीचमा मनाइन लागेकाे जनाइएकाे छ ।

लुम्बिनीस्थित विहार, मोनाष्ट्री र गुम्बाका भिक्षु भिक्षुणी, लामागुरु, गुरुमा र अनागरिकाद्वारा मायादेवी मन्दिरमा उक्त दिन विहान पूजापाठ गरी मनाइने लुम्बिनी विकास कोषका सदस्य सचिब ज्ञानीन राईले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी भएको निर्देशनको पूर्ण पालना गर्दै निश्चित भौतिक तथा सामाजिक दूरी कायम अत्यन्त सीमित व्यक्तिमाझ गरी पूजा र प्रार्थना गरिँदैछ ।

विगतमा लुम्बिनीमा यस दिन श्रद्धालुहरूकाे ठूलाे भीड लाग्ने गरेकाे थियाे । काभ्रेपलाञ्चोकको नमोबुद्ध, काठमाडौँको बौद्ध, स्वयम्भू, चाबहिलस्थित चारुमती विहारलगायत बौद्ध बिहार, गुम्बा, स्तूप, चैत्यमा बुद्ध मूर्तिसहित शोभायात्रा र शान्ति पदयात्रा निकाल्ने गरिन्थ्याे । यस अवसरमा देशका विभिन्न स्थानमा बुद्धको मूर्ति र अस्थि धातुसहित प्रभातफेरी एवम् शोभायात्रा निकालिन्छ। प्रभातफेरी र शोभा यात्रामा ‘बुद्धम् शरणम् गच्छामि’, ‘धम्मम् शरणम् गच्छामि’ र ‘सङ्घम् शरणम् गच्छामि’ को नारा लगाइन्थ्याे। यस वर्ष भने काेराेनाकाे त्रासदीका कारण यी सबै अाैपचारिक कार्यक्रम नहुने भएका छन् ।

नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा करीब दुई हजार ६०० वर्षअघि सिद्धार्थ गौतम राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मी २९ वर्षका उमेरमा दरबार त्यागी ज्ञानको खोजीमा लाग्नु भएकाे थियाे । कठाेर तपस्यापछि उहाँ गाैतम बुद्धका नामले प्रसिद्ध हुनुभयाे ।

छ वर्षको तपस्यापछि ३५ वर्षका उमेरमा इसापूर्व ५२८ मा भारतको बौद्धगयामा बुद्धत्व प्राप्ति भयो। यसपछि बुद्धका रुपमा उहाँले विश्व प्रसिद्धि पाउनुभयो। छत्तीस वर्षका उमेरमा सारनाथमा उहाँले पहिलो पटक पाँच शिष्यलाई प्रवचन गर्नुभएको थियो जसलाई ‘धर्मचक्र प्रवत्र्तन’ भनिन्छ।

सारनाथमा चार आर्य सत्यका विषयमा बुद्धले पहिलो प्रवचन गर्नुभयो, जसमा संसार दुःखै-दुःखले व्याप्त छ, दुःखको कारण छ, दुःखको अन्त्य हुनसक्छ र दुःखको अन्त्यका उपाय वा मार्ग पनि छन् भन्ने विषय थियो ।

बौद्धदर्शनका प्रा शान्तरत्न बज्राचार्य भगवान् बुद्धले बुद्धत्व ज्ञान प्राप्त गर्नुभएको मुख्य कुरा चार आर्य सत्य रहेको बताउनुहुन्छ- भव तृष्णा, विभव तृष्णा र काम तृष्णाका कारणले दुःखको उत्पत्ति हुन्छ, त्यसको निरोधका लागि निर्वाण प्राप्त गर्नुपर्छ, दुःखलाई नाश गर्न तृष्णा क्षय गर्ने आठ वटा मार्ग आर्य अष्टाङ्गिक मार्ग छन् भनी बुद्धले ज्ञान दिनुभएकाे थियाे ।

राष्ट्रिय विभूति गौतम बुद्धले बताएको आर्य अष्टाङ्गिक मार्गमा सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् जीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि प्रज्ञा, शील र समाधि पर्छन्। यसैगरी पञ्चशीलमा चोरी नगर्नू, झुठो नबोल्नु, यौन व्यभिचार नगर्नू, मद्यपान नगर्नु र हिंसा नगर्नू रहेका छन्। हिन्दूदर्शनले बुद्धलाई विष्णु भगवान्को नवौँ अवतार मान्दछ। यसैकारण वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्धजयन्ती मनाउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *