आलमलाई पक्राउ गर्ने प्रहरी, सरकारी वकिल र न्यायाधीश सबैको सरुवा

काठमाडौं । चर्चित राजपुर फरदहवा बमकाण्डका आरोपित कांग्रेस नेता मोहम्मद आफताब आलमलाई पक्राउ तथा अनुसन्धान गर्ने प्रहरी, मुद्दा चलाउने सरकारी वकिल र फैसला गर्ने न्यायाधीश सबैको सरुवा भएको छ । राजपुरमा २०६४ चैत २७ गते साँझ भएको बम विस्फोटमा परेका घाइतेलाई इँटाभट्टामा जलाएर मारेको आरोप लागेका आलमलाई पक्राउ गरेका डीएसपी नवीन कार्कीले बुधबार जिल्ला छाडेका छन्। करिब १३ महिना यहाँ बसेका उनको काठमाडौं सरुवा भएको हो।

आलमलाई पक्राउ गर्न भूमिका खेलेका जिल्ला प्रहरी प्रमुख एसपी भूपेन्द्रबहादुर खत्रीको यसअघि सरुवा भइसकेको छ। राजनीतिक आडमा १२ वर्षसम्म रोकिएको अनुसन्धान एसपी खत्रीकै सक्रियतामा अघि बढेको थियो। पूर्वमन्त्री आलम गत असोजमा पक्राउ परेका हुन्। आलम पक्राउ परेपछि अनुसन्धान अधिकृत तोकिएका प्रहरी निरीक्षक पप्पु नायकको तीन महिनाअघि धनुषा सरुवा भइसकेको छ।

मुद्दामा थुनछेक बहस सकिए लगत्तै जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटवालले जिल्ला छाडेका थिए। उनको हेटौंडा सरुवा भइसकेको छ। यस मुद्दामा जिल्ला न्यायाधीश दीपक ढकालले आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेका थिए। आदेश दिएकै रात न्यायाधीश ढकाल काठमाडौं हिँडेका थिए। उनको नवलपरासी सरुवा भएको छ।

सुरक्षा चुनौतीलाई ख्याल गरेर उनीहरूलाई सम्बन्धित मन्त्रालय र विभागले सरुवा गरेको स्रोतले जनाएको छ। आलमको मुद्दा अदालतमा विचाराधीन छ। तर घटनाका जानकार सुरक्षा अधिकारी, सरकारी वकिललगायत अब जिल्लामा छैनन्। राजपुर घटनामा संलग्न आरोप लागेका आलमका भाइ महतावलगायत १० जना फरार छन्। अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *