इटलीमा कोरोना भाइसबाट एकै दिन १६८ को मृत्यु, ६ करोडलाई घरभित्रै बस्न निर्देशन

एजेन्सी, २८ फागुन । युरोपेली मुलुक इटलीमा कोरोना भाइरसले भयावह स्थिति सिर्जना गरेको छ। कारोनाको संक्रमणबाट इटालीमा मंगलबार मात्रै १ सय ६८ जनाको मृत्यु भएको छ । विश्वका विभिन्न विषयसँग सम्बन्धित तथ्याङ्क निकाल्ने संस्था वल्र्डओमेटर्सडटइन्फोका अनुसार बुधबार बिहानसम्म इटलीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ३१ पुगेको छ ।

इटालीमा पाँच दिनमै झण्डै ५ सयभन्दा बढीको मृत्यु भएको छ । इटालीमा पाँच दिनको ५ सय ८२ जनाको मृत्यु भएको वल्र्डओमेटर्सडटइन्फोले जनाएको छ । बिहीबारसम्म इटालीमा जम्मा ४९ जनाको मात्रै मृत्यु भएको थियो । वल्र्डओमेटर्सडटइन्फोको अनुसार इटालीमा शुक्रबार १ सय ७, शनिबार ४९, आइतबार १ सय ३३, सोमबार १ सय २५ र मंगलबार १ सय ६८ जनाको मृत्यु भएको छ ।

चीनपछि सबैभन्दा बढी कोरोनाको सामना गरिरहेको देश इटाली नै हो । यसरी कोरोना संक्रमण तीव्र रूपमा फैलिएपछि इटली सरकारले देशभर आपतकालीन उपाय अपनाएको छ । इटली सरकारले देशव्यापी रूपमा सार्वजनिक भेलामा प्रतिबन्ध लगाएको छ भने हिँडडुल गर्न कडाइ गरेको छ । ६ करोड जनसंख्या भएको इटलीका सबै बासिन्दालाई घरभित्रै बस्न त्यहाँका प्रधानमन्त्री जुजेप्पे कोन्टेलेले निर्देशन दिएका छन्।

इटलीमा अहिलेसम्म १० हजारभन्दा बढी व्यक्तिमा संक्रमणको पुष्टि भएको छ । ८ सय ७७ जना जटिल अवस्थामा छन् भने एक हजार जना पूर्ण रुपमा निको भएको वल्र्डओमेटर्सडटइन्फो जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *