उपत्यकामा फेरि जोर बिजोर लागु गर्न प्रस्ताव

साउन, काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिम बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा सार्वजनिक सवारी साधनहरुमा जोर बिजोर लागु गर्न प्रस्ताव गरेको छ ।मन्त्रालयको प्रस्ताव कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को निर्देशक समितिमा विचाराधीन छ । ‘पछिल्लो बैठकमा छलफल पनि भएको हो’ एक उच्च अधिकारीले भने, ‘तर यसबारे निर्णय भएको छैन । सीसीएमसीले निर्णय गरेर मन्त्रिपरिषद्‍मा प्रस्तावका रुपमा गएपछि मात्र यसले औपचारिकता पाउँछ ।’

सरकारले २६ असारबाट निजी सवारी साधानको जोरविजोर हटाएको थियो भने उपत्यकामा तीन जिल्ला र बाहिर जिल्लामा सार्वजनिक सवारी चलाउन दिएको थियो । साथै भदौ १ बाट लामो दुरीको सवारी पनि चलाउने तयारी छ । तर लकडाउन खुला भएसँगै कोरोना संक्रमण बढेको छ भने उपत्यकामा पनि जोखिम थपिएको छ ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरुका अनुसार उपत्यकामा संक्रमण फैलिन नदिने हो भने सवारी साधनमा जोर बिजोर, बाहिरबाट आउनेहरुलाई १४ दिन अनिवार्य होम वा स्थानीय क्वारेन्टिन जस्ता उपाय अपनाउनुको विकल्प छैन ।मन्त्रालयले उपत्यका प्रवेश गर्ने तीन नाका थानकोट, साँगा र फर्पिङमा साउन १० देखि १३ गतेसम्म १० हजार ८२७ नमुना संकलन गरेको थियो । त्यसमध्ये करिव ३७ सय नमुना परीक्षण गर्दा २५ जनामा संक्राण पुष्टि भएको थियो ।

अहिले पनि कोरोना संक्रमण फैलिएको क्षेत्रबाट मानिसहरु काठमाडौं आउने क्रम रोकिएको छैन । यसरी आउनेहरुलाई रोक्न नसके पनि १४ दिन अनिवार्य होम क्वारेन्टिन वा स्थानीय तहको क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरे मात्र उपत्यकालाई संक्रमणबाट जोगाउन सकिने मन्त्रालयका अधिकारी बताउँछन् । त्यसअनुसार मन्त्रालय १४ दिन होम वा स्थानीय क्वारेन्टिनको सहमतिपछि मात्र उपत्यका प्रवेश गर्न दिने प्रस्ताव पठाएको स्रोतले बताएको छ ।

सीसीएमसीका अधिकारीहरु जोरविजोर लागू गर्न सकारात्मक रहेको एक अधिकारीले बताए । तर उपत्यका प्रवेश गर्नेहरुलाई १४ दिन अनिवार्य होम क्वारेन्टिनमा राख्न कठिन रहेको बताउँछन् । ‘बाहिरबाट आउनेहरुलाई सरकारले क्वारेन्टिन गरेर सकिँदैन । आफैं बसे नबसेको हेर्न पनि सहज छैन’ एक अधिकारीले बताए ।

  • No items

Leave a Reply

Your email address will not be published. Required fields are marked *