उपत्यका छिर्न खोज्ने यात्रु ओसार्ने एम्बुलेन्स र प्रेसका गाडी पनि फिर्ता

अनाधिकृत गाडी रोक्न काठमाडौंका सुरक्षा प्रमुखहरू नै नाकामा, यात्रु ओसार्ने एम्बुलेन्स र प्रेसका गाडी पनि फिर्ता पठाइए उपत्यका छिर्न खोज्ने गाडी झ्याप्ले खोलाबाटै फिर्ता, यात्रु ओसार्ने प्रेस र एम्बुलेन्सका गाडीमा पनि रोक रोनाभाइरस (कोभिड १९) को संक्रमण फैलिन नदिन र सरकारले घोषणा गरेको बन्दाबन्दी (लकडाउन)लाई प्रभावकारी बनाउन प्रहरीले राजधानी बाहिरबाट काठमाडौं भित्रिने सवारी प्रवेशमा कडाइ गरेको छ ।

लकडाउन फितलो भएको, विना पासका गाडी पनि धमाधम काठमाडौं छिरेको र कोरोना संक्रमित भेटिएका क्षेत्रका सर्वसाधारण पनि काठमाडौं आउन थालेको पाइएपछि उपत्यका भित्रने सबै नाकामा प्रहरीले कडाइ गरेको हो ।

बुधवार महानगरीय प्रहरी कार्यालय रानीपोखरी प्रमुख डीआईजी विश्वराज पोखरेल र महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवाली तथा सशस्त्र प्रहरीका उपत्यका इञ्चार्ज डीआईजी चन्द्रप्रकाश गौतम नागढुंगामा पुगेर अनुगमन गरेका थिए ।अनुगमनका लागि पोखरेल र गौतम नागढुंगाभन्दा तल धादिङ र काठमाडौंको सीमा झ्याप्ले खोलासम्म पुगेका थिए ।

प्रहरीले विनापास हिँडेका, पुरानो पास देखाएर हिँडेका, यात्रु बोकेका एम्बुलेन्स र एक ठाउँको पास बनाएर अर्को क्षेत्रमा हिँडेका गाडी र मोटरसाइकललाई झ्याप्ले खोलाबाटै फर्काएको थियो ।‘लकडाउन प्रभावकारी बनाउन अनावश्यक मान्छेलाई उपत्यका प्रवेशमा कडाइ गरेका छौं,’ नागढुंगामा भेटिएका डीआईजी पोखरेलले भने ।

प्रहरीले मंगलवार पनि दर्जनौं सवारी साधनलाई फिर्ता पठाएको थियो । ‘सूचना विभागको पास समेत नभएका व्यक्तिले पत्रकार हुँ भन्दै गाडीमा पाँचजना यात्रु समेत राखेर हिँडेको पाइयो,’ चेकिङमा खटिएका एक प्रहरी अधिकारीले भने ।यसरी पासको दुरुपयोग गर्नेलाई जहाँबाट आएको त्यतै फर्काइदिएको उनले बताए ।

गाडीमा प्रेस लेखेर पोखराबाट आएको बा१२च ५४५ नम्बरको गाडीलाई परिचयपत्र देखाउन नसकेपछि प्रहरीले झ्याप्लेखोलाबाट फिर्ता पठाइदिएको थियो । प्रेस लेखेर हिँडेको अर्को एउटा गाडीलाई पनि फर्काइएको थियो । ‘लकडाउनको समयमा पत्रकारको नाममा गैरपत्रकारले प्रेस शब्दको दुरुपयोग गरेको पाइएको छ, सूचना विभागको परिचयपत्र बोकेकोलाई रोकेका छौनौं,’ नागढुंगामा खटिएका एक प्रहरी अधिकारीले भने ।

कतिपय औषधि बिक्रेता र सप्लायर्सले समेत गाडीमा अस्पताल (एच) लेखेर हिँड्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।परिचयपत्र माग्दा यसरी काठमाडौं बाहिरबाट आएका व्यक्तिहरूले अस्पतालमा सामग्री सप्लाइ गर्ने गरेको बताएका थिए ।उनीहरूलाई पनि प्रहरीले फर्काइदिएको थियो । पासको दुरुपयोग बढेको र अनावश्यक मान्छेहरू राजधानी भित्रिन खोजेपछि चेकजाँचमा कडाइ गरिएको ज्ञवालीले बताए ।

उनका अनुसार हिजो नागढुंगाबाट ५४ वटा सवारी साधनलाई फिर्ता पठाइएको थियो । दूध, तरकारी, खाद्यान्न लगायत अत्यावश्यक सामग्री ढुवानी गर्ने गाडी, बिरामी बोकेका एम्बुलेन्सलाई भने आवतजावतमा रोक लगाइएको छैन । केही एम्बुलेन्सले बिरामी नभई यात्रु ओसार्ने गरेको पाइएको प्रहरीले बताएको छ ।

राजमार्गमा एम्बुलेन्सको अस्वाभाविक ओहोरदोहोरबारे लोकान्तरले यसअघि पनि समाचार प्रकाशित गरेको थियो । बुधवार प्रहरीले महिला सशक्तीकरण तथा महिला जागरण नेपालले सञ्चालन गरेको एम्बुलेन्सलाई काठमाडौंको नागढुंगाबाट फिर्ता पठाइदियो ।साइरन बजाउँदै आएको एम्बुलेन्समा बिरामी नदेखेपछि चितवनबाट आएको एम्बुलेन्सलाई फिर्ता पठाइदिएको हो ।

एम्बुलेन्समा चालकबाहेक एकजना यात्रु आएका थिए ।बीपी राजमार्गमार्फत उपत्यकामा भित्रिन खोज्ने सवारी साधनलाई भक्तपुरको साँगाबाट फिर्ता पठाइएको छ । कोरोनाको संक्रमण फैलिन नदिन सरकारले गत चैत्र ११ गतेदेखि बन्दाबन्दी (लकडाउन)को घोषणा गरी अत्यावश्यक बाहेकका सवारी आवागमनमा रोक लगाएको छ ।

हिजो मात्र सरकारले लकडाउनको अवधि लम्ब्याएर जेठ ५ गतेसम्म पुर्‍याएको थियो । सरकारले अन्तर्राष्ट्रिय सीमा नाका र हवाई उडान जेठ १८ गतेसम्म बन्द गरेको छ । संक्रमित क्षेत्रबाट सर्वसाधारण काठमाडौं भित्रिन सक्ने सम्भावना रहेको भन्दै तीनदिन यता सरकारले बाहिरबाट काठमाडौं भित्रिने सवारीमा कडाइ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *