उप-महानगरको राहतमा सडेको र ढुसी परेको चामल

जनकपुर, १६ वैशाख । कोरोनाभाइरसको महामारीका कारण नेपाल सरकारले देशभर लकडाउन गरेको ३५ दिन भन्दा बढ़ी भइसकेको छ ।प्रदेश- २ सरकारले स्थानीय सरकारलाई उपलब्ध गराएको रकम र स्थानीय सरकारले आफ्नो विपद व्यवस्थापनकोष बाट समेत रकम निकाशा गरेर यति बेला धनुषा जिल्लाको विभिन्न पालिकाहरुमा ढिलाे गरेर राहत वितरण सुरु गरिएकाे छ ।

एक महिनाभन्दा पनि बढी समय प्रतीक्षा गरेर पाएको राहतले झन आहत बनाएकाे छ गरीब, विपन्न र दैनिक ज्यालादारीमा काम गर्ने मजदूरहरुलाइ ।उनीहरूले खुसी हुँदै जब राहत लिएर घर पुगे, अनि चामलको बोरा खोलेर हेर्दा त्याे खुसी गायब भयाे । राहतको चामल सडेको र ढुसी परेको भेटिएको छ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१६ ले सोमबार केही विपन्न घरपरिवारलाई वितरण गरेको चामल अखाद्य ढुसीयुक्त भेटिएको हो । चामलमा दुर्गन्ध आएको स्थानीयहरुको आरोप छ ।

चौतर्फी दबाव बढेपछि उपमहानगरले राहत वितरण सुरु गरे पनि गुणस्तरहीन खाद्यान्न सामग्री वितरण गरेको भन्दै स्थानीय आक्रोशित देखिएका छन् । एक स्थानीय रामाठाकुरले राहत सामग्री घर लिएर पुगेकाे तर चामल हेरेपछि निक्कै दु:खी भएर राहत फर्काइदिएको बताए ।

स्थानीय मनोज साहले दुःखेसो पोख्दै भने, ‘एक त विगत एक महिनादेखि राहतको पर्खाइमा थियाैँ, बल्ल राहत पाएर खुशी भयाैँ । तर घर गएर चामलको बोरा खोल्दा सबै चामलमा ढुसी देखेर मनै खिन्न भइहाल्यो ।’

‘राहत दिने मन थिएन भने नदिँदा नि हुन्थ्यो तर यो सडेको चामल दिएर जनकपुरधाम उपमहानगरपालिकाले हाम्रो गरिबीसँग मजाक गरेको छ,’ साहले आक्रोश पोखे ।राहतमा पाएको चामल कुहिएको पाइएपछि स्थानीयले वडा कार्यालयमा तत्कालै फिर्ता गरिदिएका थिए ।

वार्ड १६ का वडा अध्यक्ष राम आशीष पजियारले ढुसी र सडेको चावल वारे स्वीकार गर्दै भने, ‘यसमा आफ्नो कुनै दोष छैन ।’ खबर पाउनासाथ आफूले तत्काल मेयर लालकिसोर साहलाई खबर गरेको र सडेको चामल फिर्ता गरेको उनले स्पस्ट पारे ।

विराटनगरबाट खरीद गरेर ल्याइएको चामल १५ केजीको प्याक बोरा रहेकोमा आफूहरुको के गल्ती भन्दै प्रतिप्रश्न गर्दै वार्ड अध्यक्ष पंजियाले भने, ‘मैले आफै चामल खरीद गरेर बोरा प्याक गरेको छैन नि ।’ सोमबार २३९ जनालाई आफूहरुले राहत वितरण गर्दा जम्मा दुइ जनाको राहतमा यस्तो समस्या देखिएको पंजियारको दावी छ ।

मेयरले उल्ट्याएका थिए निर्णय

गत चैत २२ गते उपमहानगरले बोर्ड बैठकबाट राहत वितरण गर्ने भनेर २५ वटै वडामा नामावाली संकलन कार्य प्रारम्भ गरेको थियो । बोर्ड बैठकद्वारा प्रत्येक परिवारलाई ३० किलो चामल, ३ किलो दाल, लिटर खानेतेल र २ प्याकेट नूनलगायतका सामग्री दिने निर्णय गरे पनि मेयर लालकिशोर साहले बैठकको निर्णयलाई उल्टाउँदै पछि सर्वदलीय बैठक द्वारा १५ किलो चामल, १ लिटर तेल, एक प्याकेट नून र साबुनका साथै दाल र तरकारी वापत प्रतिपरिवार ३ सय रुपैयाँ वितरण गर्ने निष्कर्ष लगाए ।

जनकपुरधाम उपमहानगरपालिकाले पहिलो चरणमा १२ वटा वडाका ७ हजार ६ सय परिवारका लागि राहत पठाएको हो । वडा नम्बर २, ३, ४, ५, ६, ८, ११, १४, १६, १७, १८ र २१ मा राहत पठाइएको छ । वडा नम्बर २ मा ३ सय १५, वडा नम्बर ३ मा २ सय ७०, वडा नम्बर ४ मा १ हजार २९, वडा नम्बर ५ मा १ सय ४७, वडा नम्बर ६ मा ५ सय ८८, वडा नम्बर ८ मा ७ सय ५४, वडा नम्बर ११ मा ५ सय ८९, वडा नम्बर १४ मा ६ सय १५, वडा नम्बर १६ मा ५ सय ४१, वडा नम्बर १७ मा ९ सय ४१, वडा नम्बर १८ मा ६ सय १२, वडा नम्बर २१ मा १ हजार २ सय घरपरिवारका लागि राहत पठाइएको उपमहानगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *