‘उसले मलाई एसिड हान्न लगायो होला भन्ने सोचेकी पनि थिइनँ’

शुक्रबार बिहान कीर्तिपुर अस्पताल पुग्दा पवित्रा कार्की बेड नम्बर ३२१ मा पल्टिरहेकी थिइन्। उनको दुवै हातमा साउनको मेहन्दी थियो। अनुहार भने गम्लङ्ग सलले ढाकेकी थिइन्।

उनी हातको मेहन्दी त सबैलाई देखाउन सक्छिन्, तर अनुहार देखाउन सक्दिनन्। उनको अनुहारमा बिहीबार साँझ मात्र तेजाब छ्यापिएर ठूलो घाउ बनेको छ।

पवित्रा दही-चिउरा किन्न कोठाबाट निस्केकी थिइन्। बाटोमा जाँदाजाँदै उनको छेउमै एउटा मोटरसाइकल रोकियो। मोटरसाइकलमा उनको पहिलेका साहु मोहम्मद आलम थिए।

तीन वर्षदेखि पवित्राकी दिदी डल्लुस्थित आलमको गार्मेन्ट कम्पनीमा काम गरिरहेकी छन्। दिदीले पवित्रालाई पनि सोही कम्पनीमा काम लगाएकी थिइन्। एक महिना उक्त कम्पनीमा काम गर्दा आलमसँग उनको चिनजान भयो। पवित्राले आलमलाई दाइ भन्थिन्।‘साझँपख केटीमान्छे कसरी जान्छौ?’ आलमले पवित्रालाई मोटरसाइकलमा बस्न भने।

‘म आफैं जान्छु भनेकी थिएँ। होइन म पुर्‍याइदिन्छु भनेपछि मोटरसाइकलमा बसेँ,’ पवित्राले शुक्रबार बिहान कीर्तिपुर अस्पतालको शैयाबाट सेतोपाटीसँग भनिन्।मोटरसाइकल चढेर उनीहरू डेरीमा पुगे। नजिकैको अर्को पसलमा चिउरा पनि किने। उनीहरूले सँगै खाजा खाए।

केही बेरअघि ‘एक्लै कहाँ जान्छौ, म पुर्‍याइदिन्छु’ भनेका आलमले फर्किँदा घरसम्म ल्याएनन्। बीच बाटोमै मोटरसाइकलमा ब्रेक लगाए। उनले झर त भनेका थिएनन्, तर पवित्रा आफैं कुरा बुझेर कोठातिर लागिन्।

रातको आठ बज्न लागेको थियो। कोठातिर जाँदा पवित्राले बाटोमा एक अपरिचित युवकलाई देखिन्। उनी भित्तातिर फर्केर उभिएका थिए। नदेखेझैं गरी पवित्रा अगाडि बढिन्। त्यत्तिकैमा त्यो मान्छेले उनीमाथि तेजाब छ्याप्यो।

‘ती व्यक्तिलाई नदेखेजसरी अगाडि जाँदै थिएँ। त्यत्तिकैमा झ्याप्पै उसले मलाई केही कुराले हान्यो,’ उनले भनिन्। पवित्राले केही समयसम्म त आफूलाई के भएको हो भन्ने चाल नै पाइनन्।

‘मैले घाँटीमा सिक्री लगाएकी थिएँ। त्यही सिक्रीका लागि आक्रमण गरेको होला वा मेरो अपहरण गर्न लागेको होला भन्ने सोचेँ,’ उनले भनिन्, ‘एकछिनमा मलाई एकदमै पोल्यो। म दिदी, दिदी… भन्दै चिच्याउन थालेँ। सुँघाएर बेहोस पार्छ भन्ने सुनेकी थिएँ, मलाई पनि त्यही गर्न लाग्यो भन्ठानेँ। चिच्याएपछि कोही आएर बचाउलान् भनेर बेस्सरी कराउन थालेँ।’

आफूमाथि तेजाब प्रहार भएको रहेछ भन्ने उनलाई बचाउन आएका मान्छेहरूको मुखबाट सुनेपछि थाहा पाएको उनले बताइन्। भेला भएका मान्छेहरूले प्रहरीलाई खबर गरे। अनुहार र कपालमा तेजाब लागेकी पवित्रालाई कीर्तिपुर अस्पताल लगियो। प्रहरी तत्कालै तेजाब हान्ने व्यक्तिहरूको खोजीमा लाग्यो।

महानगरीय प्रहरी परिसर, काठमाडौंका एसएसपी श्याम ज्ञवालीले पवित्रालाई राति नै गएर भेटे। केही सोधपुछ पनि गरे, तर आफूमाथि तेजाब हान्नेलाई पवित्राले चिन्न सकिनन्। महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी कार्यालय रानीपोखरीको संयुक्त टोली खट्यो। सिसिटिभी फुटेज हेर्‍यो। अरू अनुसन्धान गर्‍यो।

राति ११ बजेतिर प्रहरी उनीहरूको गार्मेन्ट कारखानामा पुग्यो। त्यहाँ आलम र उनकै कारखानामा काम गर्ने फैयाज आलम सँगै थिए। प्रहरीको अनुसन्धानमा उनीहरूले नै पवित्रामाथि तेजाब हानेको देखिएको थियो। भारतको बिहारका फैयाज गार्मेन्ट कारखानामा सिलाइको काम गर्थे।

पक्राउ गरेपछि थाहा भयो- फैयाजको हातमा पनि तेजाब लागेको थियो। प्रहरीले उनीहरूको बयान लियो। तेजाब हान्ने योजना मोहम्मद आलमको रहेछ।

‘मलाई साहुले त्यो केटीलाई हान्नू भने, मैले सोचेँ- रक्सी होला। मैले केटीलाई त्यो बोतलले हानेँ, मेरो हातमा पनि परेपछि थाहा पाएँ त्यो त एसिड रैछ,’ फैयाजले प्रहरी बयानमा भनेका छन्, ‘एसिड हानेर हामी साहुकै मोटरसाइकल चढेर कारखाना आयौं।’ कुनै बेला आफूले काम गरेको कारखानाको साहुले त्यस्तो आपराधिक कृत्य गर्ला भने पवित्राले सोचेकी पनि थिइनन्।

शुक्रबार बिहान समाचारमा उनी पक्राउ परेको सुन्दा पवित्रा अचम्ममा परिन्। आलमले पवित्रा आफूले भनेजसरी नचलेकाले तेजाब हान्न लगाएको बयान दिएका छन्।

‘केटाले केटीलाई मन पराउँदो रहेछ। आफूले भनेजस्तो नगरेपछि एसिड हानेको देखिन्छ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले भने।

आलम बेलाबेला पवित्राकी दिदीलाई फोन गर्थे। जाँड खाएर फोन गर्दा उनी जथाभाबी बोल्थे। कहिलेकाहीँ पवित्रालाई पनि फोन गर्थे, माया गर्छु भन्थे। कहिलेकाहीँ फोन नउठाए पछि मुख छाडेर गाली गर्थे।

पवित्रामा भने पुरानो कम्पनीका साहुसँग प्रेमको कुनै अंश थिएन। ‘अति भएपछि म फोन स्वीच अफ गरेर बस्थेँ,’ पवित्राले भनिन्। पवित्राका अनुसार केही दिनअघि बीमाको कामका सिलसिलामा उनी लाजिम्पाट गएकी थिइन्।

‘त्यो दिन म ओखलढुंगाकै साथीको गाडी चढेकी थिएँ। त्यो उसले देखेको थियो। त्यही दिनदेखि उसले त्यस्तो सोचेको हुनुपर्छ,’ पवित्राले भनिन्, ‘पछि फोनमा कसको गाडीमा हिँडेको भनेर नानाथरि कुरा गरेको थियो।’

पवित्राका बुवाआमा अहिले ओखलढुंगामा छन्। सुन्दर भविष्य बनाउने सपना बुनेर काठमाडौं हिँडेकी छोरीमाथि तेजाब छ्यापिएको सुनेर उनीहरू मर्माहत छन्।

‘आमाबुवा काठमाडौं आउन खोजिरहनुभएको छ, तर गाडी नचलेकाले आउन पाउनुभएको छैन,’ कीर्तिपुर अस्पतालमा पवित्राकी कुरूवा बसेकी गंगा भट्टराईले भनिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *