एकैदिन १५ जना कोरोना संक्रमित भेटिएपछि नेपालगन्जमा थप जनशक्ति परिचालन गर्न सरकारसँग माग गरिने

नेपालगन्जमा एकैदिन १५ जनामा कोरोना भाइरस संक्रमण देखिएपछि थप जनशक्ति र परीक्षण गर्न आवश्यक सामग्री सरकारसँग माग गर्ने निर्णय गरिएको छ।संक्रमित संख्या ह्वात्तै बढेपछि उपचार र परीक्षणमा थप जनशक्ति आवश्यक रहने भन्दै केन्द्र सरकारसँग सो माग गर्ने निर्णय भएको नेपालगन्जका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए।

‘थप विशेषज्ञ, कन्ट्याक्ट ट्रेसिङ गर्ने जनशक्ति, ल्याब प्राविधिक आवश्यक पर्छ। हामीले यो कुरा प्रदेश र केन्द्र सरकारलाई अनुरोध गर्ने भनेका छौं,’ उनले सेतोपाटीसँग भने।

उपाध्यायले संक्रमित संख्या वृद्धि भएसँगै थप व्यक्तिको परीक्षण गर्न पर्ने भन्दै परीक्षणका लागि चाहिने सामग्री पनि मगाइने बताए। साथै संक्रमित रहेका वस्तीमा आवतजावत निषेध गर्ने र लकडाउन समेत कडाइ गरिने उनले जनाए।

आइतबार मात्रै नेपालगन्जमा १५ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको हो। उनीहरूलाई सुशील कोइराला क्यान्सर अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ।आजै वीरगन्जका एकजना पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ। उनलाई नारायणी अस्पताल भर्ना गरिएको छ। योसँगै नेपालमा कोरोना संक्रमित संख्या ७५ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *