काठमाडौंका मस्जिद र मदरसामा थालियो अनुगमन

काठमाडौं : उदयपुरको मस्जिदमा रहेका जमातीहरुमा कारोना पोजेटिभ देखिएपछि अहिले देशभरीका मस्जिद र मदरसाहरुमा अनुगमन थालेको छ। मुस्लिम आयोग आफैंले समिति गठन गरेर स्थानीय प्रशासनसँगको सहकार्यमा अनुगमन थालेको हो ।

मंगलबार उपत्यकामा रहेका मस्जिदहरुमा अनुगमन गरिएको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सहित मुस्लिम आयोगको टोलीले मंगलबार काठमाडौंको घण्टाघर स्थित मस्जिद र मद्रसामा अनुगमन गरेको हो ।

मस्जिदमा अनुगमन पछि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मस्जिदहरुमा जमातीहरु लुकेर बसेको आशंका जनमानसमा रहेकाले अनुगमन गरिएको बताए।

उनले अनुगमनका क्रममा कोही पनि लुकेर बसेको नपाइएको बताउनुभएको छ । दुवै ठाउँमा चार-चार जना धर्मगुरु, तीनका सहयोगी दुई-दुई जना र दुई-दुई जना कर्मचारी गरी आठआठ जना मात्रै भेटिएको बताए। कुनैपनि धार्मिक क्रियाकलापमा नियमित प्रकृयालाई नरोक्ने तर भक्तजनहरुलाई लकडाउनको अवस्थामा प्रवेश गर्न नदिन आग्रह गरेको पनि उनले बताए।

मेयर शाक्यले कोही लुकेर बसेको अवस्था भएमा गृह प्रशासन तथा स्थानीय सरकारलाई जानकारी गराउन आग्रह समेत गरेका छन्। अनुगमनपछि कोही आउन सक्नेमा महानगरपालिकाले निरन्तर जानकारी लिइरहने उनले बताए।

मुस्लिम आयोगका अध्यक्ष समिम मिँया अन्सारीले उदयपुरको घटनापछि जनमानसमा पर्न गएको भ्रम चिर्नका लागि मुस्लिम आयोगले सर्वपक्षीय बैठकमार्फत अनुगमन समिति गठन गरी अनुगमन थालिएको बताए।

हरेक मस्जिद र मद्रसामा अनुगमन गरी जनमानसमा फैलिएको भ्रम चिर्न खोजिएको उनले बताए। कुनै पनि मस्जिद वा मद्रसामा कोहीपनि लुकेर नबसेको उनले बताए। अझै पनि कोही छुटेको भए स्थानीय सरकारलाई जानकारी गराउन आयोगले अपिल गरेको छ।

गत शुक्रबार उदयपुरको एक मस्जिदमा बस्दै आएका १२ जना जमातीहरुमा कोरोना भाइरस संक्रमण फेला परेको थियो। त्यहाँ एकजना नेपालीमा पनि कोरोना पुष्टि भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *