काठमाडौं उपत्यकामा निषेधाज्ञाको तीन साता अवधिमै थपिए ७ हजार संक्रमित

काठमाडौं– कोरोना संक्रमण बढ्न थालेपछि सरकारले काठमाडौं उपत्यकामा भदौ २ गते राति १२ बजेदेखि एक साताका लागि निषेधाज्ञा जारी गर्‍यो। २ गते जारी भएको निषेधाज्ञा २४ भदौमा खुुुकुलो पारियो। एक–एक साता गरी तीन पटक निषेधाज्ञा थपिएको थियो।

दोस्रो पटक भदौ १० गतेबाट १७ गतेसम्म र तेस्रो पटक भदौ २४ गतेसम्मका लागि निषेधाज्ञा थपिएको थियो। संक्रमण घटाउन, कन्ट्याक्ट ट्रेसिङ बढाउन र संक्रमण फैलनबाट रोक्ने उद्देश्यले निषेधाज्ञा जारी भएको थियो। तर संक्रमण न्यूनीकरण गर्न भन्दै लगाइएको निषेधाज्ञामा हरेक दिन संक्रमितको संख्या भने बढिरहेको छ। निषेधाज्ञा खोल्ने निर्णय भएको दिन भदौ २४ गते काठमाडौं उपत्यकामा ४६४ संक्रमित थपिएका थिए भने बिहीबार भदौ २५ गते हालसम्मकै धेरै ५७२ जना संक्रमित थपिएका छन्।

निषेधाज्ञा सुरु भएपछि १६ दिनको अवधिमा काठमाडौं उपत्यकामा ४ हजार ६ सय ९८ जनामा कोरोना संक्रमण देखिएको थियो। निषेधज्ञाको २३ दिनमा उपत्यकामा ७ हजार १ सय जनामा संक्रमण पुष्टि भयो। यीमध्ये सबैभन्दा धेरै काठमाडौं जिल्लामा रहेका थिए। हालसम्म काठमाडौं जिल्लामा संक्रमितको संख्या ८ हजार नाघेको छ। ललितपुरमा १०५४ र भक्तपुरमा ८५२ जना संक्रमित रहेका छन्।

निषेधाज्ञा जारी भएको पहिलो साता भदौ १० गतेसम्म २ हजार ५७ जनामा संक्रमण देखिएको थियो। दोस्रो निषेधाज्ञाको अवधि भदौ ११ देखि १८ गतेसम्म २ हजार ६ सय ४२ जनामा संक्रमण देखिएको छ। तेस्रो साता १८ देखि २४ गतेसम्म २४ सय २ जना संक्रमित थपिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *