काठमाण्डौ : प्रतिपक्ष दल नेपाली कांग्रेसले भारतले सीमामा बनाएको सडकमा चीन समेत जोडिएकाले दुई देशसँग कुटनीतिक छलफल गर्न जोड दिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको प्रतिपक्षी दलका नेता र पूर्व प्रधानमन्त्रीको बैठकमा कांग्रेस सभापति शेर बहादुर देउवाले त्रिपक्षीय वार्ता गर्न सुझाएका हुन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काली नदी वारी (पश्चिम)को भूमि नेपालकै रहेको र त्यसमा कुनै विवाद नरहेको बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले भारतले सीमामा बनाएको सडकमा चीन समेत जोडिएकाले दुई देशसँग कुटनीतिक छलफल गर्नुपर्ने बताए।
तथ्य र प्रमाणहरु संकलन गरेर अतिक्रमित भूमि फिर्ता गराउनुपर्ने उल्लेख गर्दै भने, ‘त्यहाँ पहिले देखि बस्दै आएको भारतीय सेना तत्काल फिर्ता पठाउन पनि सरकारले पहल गर्नु पर्छ।’ यसै गरी, देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित हुनुपर्ने बताए। बैठकमा एमसिसीको कुरा पनि उठ्यो। पारित हुनुपर्ने धारणा राखें,’ उनले भने।