काेराेनाबाट मर्ने भन्दा निकाे हुनेकाे संख्या ४ गुणा बढी, ५ लाख १० हजार बढी निकाे

काठमाडाैं, ४ वैशाख । विश्वभर अहिले कोरोना भाइरस {कोभिड-१९} महामारीले सन्त्रास मच्चाइरहेको छ । चीनको वुहानबाट ४ महिनाअघि सुरू भएको यो महामारी अहिले विश्वका सबैजसो देशमा फैलिसकेको छ ।

विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार बिहीबार बिहानसम्म कोरोना संक्रमितको संख्या २० लाख ८२ हजार १०९ पुगेको छ । पछिल्लो २४ घण्टाभित्र मात्रै ८० हजार नयाँ संक्रमित थपिएका छन् ।

अहिलेसम्म विश्वभर कोरोना भाइरसका कारण १ लाख ३४ हजार ६०३ जनाले ज्यान गुमाएका छन् । कोरोनाको उद्गम स्थल चीन भएपनि सबैभन्दा बढी अमेरिकामा कोरोनाको संक्रमण भएको छ । अहिलेसम्म अमेरिकामा कोरोना संक्रमितको संख्या ६ लाख ४४ हजार बढी रहेको छ । बुधबार मात्रै अमेरिकामा ३० हजार नयाँ संक्रमित थपिएका छन् ।

कोरोनाका कारण मृत्यु हुनेमा पनि सबैभन्दा अगाडि अमेरिका नै छ । अहिलेसम्म त्यहाँ २८ हजार ५२९ बढीको मृत्यु भइसकेको छ । त्यहाँ बुधबार मात्रै २ हजार ४ सयभन्दा बढीको मृत्यु भएको वर्ल्डो मिटर्सले जनाएको छ ।

अमेरिकापछि स्पेन, इटाली, फ्रान्स, जर्मनीमा बढी संक्रमण भएको छ । वर्ल्डो मिटर्सका अनुसार स्पेनमा अहिलेसम्म १ लाख ७४ हजार बढी संक्रमित भएका छन् । बुधबार मात्रै त्यहाँ ६ हजार ६ सय नयाँ संक्रमित थपिएका छन् ।

स्पेनमा अहिलेसम्म १८ हजार ८१२ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टाभित्र मात्रै त्यहाँ कोरोनाका कारण ५५७ सय जनाको मृत्यु भएको छ ।

इटालीको अवस्था पनि स्पेनको जस्तै भयावह छ । बिहीबार बिहानसम्म इटालीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २१ हजार ६४५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै इटालीमा ५७६ जनाको मृत्यु भएको छ । इटालीमा अहिलेसम्म १ लाख ६५ हजारभन्दा बढी कोरोना संक्रमित भएका छन् । बुधबार मात्रै त्यहाँ साढे २ हजार नयाँ संक्रमित थपिएका छन् ।

फ्रान्सलाई पनि कोरोनाले भयावह बनाएको छ । अहिलेसम्म त्यहाँ कोरोनाका कारण १७ हजार १६७ जनाको मृत्यु भएको छ भने संक्रमित हुनेको संख्या १ लाख ४७ हजार ८६३ पुगेको छ । मंगलबार मात्रै त्यहाँ ४ हजार ५६० जना नयाँ संक्रमित थपिएका छन् । कोरोना बढी संक्रमण हुने अर्को देश हो, जर्मनी । तर जर्मनीमा अरू देशको तुलनामा मृत्यु हुनेको संख्या कम र निको हुनेको संख्या बढी रहेको छ ।

अहिलेसम्म जर्मनीमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ३४ हजार नाघेको छ । तीमध्ये ३ हजार ८०४ जनाको मृत्यु भएको छ । बुधबार मात्रै त्यहाँ ३०९ जनाको मृत्यु भएको छ । तर कोरोना भाइरसको संक्रमण हुँदैमा ज्यान गइहाल्छ भनेर डराउनुपर्ने विघ्न कारण भने छैन । काेराेना लागेकाहरूमध्ये मर्नेकाे संख्याभन्दा निकाे हुनेकाे संख्या ४ गुणा बढी रहेकाे छ । संक्रमितमध्ये ६.४६ प्रतिशतकाे मात्रै मृत्यृ भएकाे छ भने २४.४८ प्रतिशत पूर्णरूपमा निकाे भएका छन् ।

दीर्घरोगी, वृद्धवृद्धा, सुगर, मृर्गौला, दमजस्ता गम्भीर रोगका बिरामीको मर्ने सम्भावना बढी रहेको भए पनि युवाहरू, स्वस्थ मानिस र इम्युन सिस्टम बलियो भएकाहरू कोरोना संक्रमण भएर पनि चाँडै निको हुने विज्ञहरूले बताउँदै आएका छन् । हालसम्म कोरोना संक्रमितमध्ये विश्वभर ५ लाखभन्दा बढी निको भइसकेका छन् । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोनाबाट पूर्णरूपले निको भएकाको संख्या ५ लाख १० हजार ४६ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यसरी निको हुनेको संख्या कोरोनाको उद्गमस्थल चीनमा नै धेरै रहेको छ । त्यहाँ कुल संक्रमित ८२ हजार २९५ हजार रहेकोमा ७७ हजार ८१६ जना पूर्ण रूपले निको भइसकेका छन् । बाँकी १ हजार १३७ जना संक्रमण यथावत छ । चीनमा अहिलेसम्म ३ हजार ३४२ जनाको ज्यान गइसकेको छ । यसरी हेर्दा चीनमा कोरोना संक्रमणबाट ३ हजारको ज्यान जाँदा ७७ हजार भने निको हुनु सुखद पक्ष हो ।

त्यसपछि कोरोनाबाट निको हुनेमा जमर्नी रहेको छ । जमर्नीमा कोरोना संक्रमितको मृत्युदर असाध्यै कम रहेको छ । अहिलेसम्म जर्मनीमा ७२ हजार ६ सय पूर्णरूपमा निकाे भइसकेका छन् । त्यहाँ अहिले ५८ हजारमा मात्रै काेराेना सक्रिय रहेकाे छ ।

उता स्पेनमा पनि पूर्णरूपमा निकाे हुनेकाे संख्या धेरै नै रहेकाे छ । अहिलेसम्म स्पेनमा ७० हजार ८५३ जना पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ९० हजारमा काेराेना सक्रिय रहेकाे छ ।

सबैभन्दा बढी काेराेना संक्रमण हुने अमेरिकामा भने ७.५६ प्रतिशत मात्रै पूर्णरूपमा निकाे भएकाे पाइन्छ । अहिलेसम्म त्यहाँ ४८ हजार ७१० जना पूर्णरूपमा निकाे भएका छन् र त्यहाँ साढे ६ लाख काेराेना संक्रमित रहेका छन् । इटाली र फ्रान्समा पनि निकाे हुनेकाे संख्या आस लाग्दाे नै छ । अहिलेसम्म इटालीमा ३८ हजार र फ्रान्समा ३१ हजर पूर्णरूपमा निकाे भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *