काेराेना महामारीकै बीच दक्षिण कोरियामा मतदान सुरु, मास्क र पञ्जाबिना मतदान गर्न निषेध

एजेन्सी, ३ वैशाख । विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमणबीच दक्षिण कोरियामा भने संसदीय निर्वाचन भइरहेको छ । स्थानीय समय अनुसार बिहान ६ बजेदेखि मतदान सुरु भएको हो ।

निर्वाचन राष्ट्रियसभाको लागि भएको हो । दक्षिण कोरियाको राष्ट्रियसभामा प्रत्यक्ष निर्वाचित र समानुपातिक गरी तीन सय सिट छ । दक्षिण कोरियामा २ प्रमुख दल छन् । सत्तारूढ डेमोक्रेटिक पार्टी र यूनाइटेड फ्यूचर ।

विश्वभर महामारी चलिरहेकै अवस्थामा दक्षिण कोरियामा शुरु भएको मतदानमा आवश्यक सतर्कता भने अपनाइएको छ । निर्वाचनमा मतदाताहरुलाई मास्क र हातमा पञ्जा बिना आउन निषेध गरिएको छ ।

यस्तै मतदान केन्द्र पुगेका मतदाताहरुको शरीरको तापक्रम परीक्षण गरिनुका साथै हात डिस्इन्फेक्ट गरिएको थियो । मतदान गर्न लाइनमा बस्दा मतदाताहरु बीच १ मिटरको दुरी कायम गर्नुपर्ने नियम बनाइएको छ ।

सेल्फ क्वारेन्टाइनमा बस्दै आएकाहरूका लागि पनि मतदान गर्ने व्यवस्था मिलाइएको छ । उनीहरूले साँझ ६ बजेपछि मतदान गर्न पाउनेछन् । अहिले दक्षिण काेरियामा ५० हजार सेल्फ आइसोलेसनमा बसेका छन् । तीमध्ये १३ हजार जनाले मतदानका लागि निवेदन दिएका छन् ।

अहिलेसम्म दक्षिण काेरियामा अहिलेसम्म १० हजार ५६४ जना काेराेना संक्रमित भएका छन् भने २२२ जनाकाे मृत्यु भइसकेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *