किसानहरूलाई नलागेको लकडाउन

तनहुँ, २० चैत । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीबाट देशवासीलाई जोगाउन सरकारले ‘लक डाउन’ गरेको ११ दिन बितिसक्यो । शहरी क्षेत्रका अधिकांश मानिस एकाध बाहेक घरभित्रै बसिरहेका छन् । तर पृथ्वीराजमार्गलाई छोएको खेतीपाती गर्ने भेगका मानिस, जो कृषि पेशामा आश्रित छन्, तिनीहरुको दैनिकीमा खासै परिवर्तन आएको छैन ।

तनहँुको व्यास नगरपालिका वडा नं १ तालघरे पृथ्वीराजमार्गलाई छोइएको क्षेत्र हो । तर पनि उक्त राजमार्गको आसपासको क्षेत्रमा गरिने खेतीपाती कर्म अहिले निरन्तर रुपले चलिरहेको छ । किसानहरु खेतमा जान छोडे भने के हुन्छ ?

महामारीकै रूप लिएर विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणको खतरालाई न्यूनीकरण गर्न सरकारले गरेको डकडाउन किसानलाई लागेको छैन । समयमै चैते धान रोप्नुपर्ने कृषकलाई यतिबेला भाइरस संक्रमणको त्रासभन्दा पनि धानको बीउ रोप्ने चटारो नै छ ।

असार महिनामा किसानहरुलाई वर्षे धान लगाउन जति हतार हुन्छ, त्यसैगरी अहिले सिंचाइ सुविधा भएका खेतमा चैते धान रोपाइँ गर्न पनि हतार छ । तनहुँको तालघरे, चुँदी, कलेस्ती, साँगे, पुर्कोट, म्याग्दे लगायत सिंचाइ सुविधा भएका फाँट तथा खेतमा कृषकहरुलाई यतिबेला चैते धान रोपाइँ गर्न भ्याईनभ्याई भइरहेको हो । वर्षे धानको तुलनामा चैते धानको उत्पादन राम्रो हुने गरेकाले जसोतसो गरी रोपाइँमा कृषकहरु जुटिरहेका छन् ।

उनीहरुलाइ विश्वव्यापी महामारी बनिरहेको भाइरस र लकडाउनले छोएको छैन । जिल्लाको बजार क्षेत्रमा लकडाउनको पूर्ण कार्यान्वयन भए पनि ग्रामीण क्षेत्रका कृषक तथा ज्यालामजदुरी गर्नेहरु आफ्नो काममा खटिरहेकै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *