कुवेतबाट प्रधानमन्त्री ओलीलाई नेपाली चेलीको चिठी : भोकै भएपनि आफ्नै देशमा मर्न चाहन्छु

प्रिय प्रधानमन्त्री ज्यू, तपाईंलाई थाहै छ, हामी भाग्यमानी देशका अभागी नेपाली हौँ। स्वर्गजस्तो देशमा जन्मिएर एक छाक टार्न परदेशको ढोका चहार्न बाध्य छौँ। पाएसम्म त आफ्नै देशमा पसिना बगाउँछौं। तर बाध्यता छ‚ त्यो तपाईंले पनि बुझेकै कुरा हो। परिवारसँगै हाँसिखुसी बस्छु भन्ने रहर कसलाई नहुँदो हो र? तर रहरभन्दा विवशता डरलाग्दो हुने रहेछ। कामका लागि रात दिन भौतारिँदा पनि केही उपाय नलागेपछि म परदेशको बाटो रोज्न विवश भएँ।

कति रहर थाती राखिदिएँ। दुई वर्षकी दुधे छोरी छाडेर म कुवेत हानिएँ। ३ वर्षसम्म मैले कुवेतमा एउटा घरमा काम गरेँ। बालबच्चा स्याहारसुसार गर्ने, घर सरसफाइ गर्ने, खाना पकाउने इत्यादि। ३ वर्षपछि २०७४ मा म आफ्नै देश फर्किएँ। म परदेश हिँड्दा तातेताते गर्न सुरु गरेकी मेरी छोरी फर्किँदा ठूली भइसकिछन्। देख्ने बित्तिकै छोरीले मलाई आमा भनेर ठम्याउन नसक्दा चसक्क घोचेको मुटु अहिलेसम्म दुखेको छ।

३ वर्ष परदेश भोगेको मन स-साना छोराछोरी र वृद्ध भएका श्रीमानसँग देशमै बसौँ भनिरहेको थियो। फेरि पनि देशमै केही गर्छु भनेर काम खोजेँ। ५ महिना बिते। तर अहँ केही काम पाइनँ। मजस्ताले देशमा काम नपाउने रहेछौं। छोराछोरीको भविष्य र छाक टार्नकै लागि फेरि परदेश जाने सोच बनाएँ। तर सरकारले परदेशको बाटो पनि बन्द गरिदिएको रहेछ। खबर सुनियो, ‘अब श्रम स्वीकृति लिएर घरको काममा जान मिल्दैन रे।’ म अलमलमा परेँ। न देशमा काम छ। न परदेश जाने बाटो छ। म के गरौँ प्रधानमन्त्रीज्यू? म के गरौँ?

तपाईं त्यो ठाउँमा आफूलाई राखेर सोच्नुस्। कुवेतको बन्द कोठाबाट अश्रुधारा मिसिएको यो चिठीमा म एउटा प्रश्न तपाईंलाई गर्न चाहान्छु। यदि तपाईंलाई यस्तै समस्या परेको भए के गर्नुहुन्थ्यो प्रधानमन्त्री ज्यू? मैले चाहीँ त्यो बेला ज्यानको बाजी थापिदिएँ। मर्नै परे आफ्नै परिवार र छोराछोरीकै लागि मरियोस् न बरु भनेर भारतको अवैध बाटो हुँदै म कुवेत हानिएँ।

म दोस्रो पटक कुवेत आएको २ वर्ष पुरा भयो। घरको काम छाडेर म कुवेतको एक विद्यालयमा काम गर्दै थिएँ। कमाइ पनि ठिकै थियो। घर परिवार धान्न र छोराछोरीको पढाइ खर्च जुटाइरहेकी थिएँ। तपाईंले सम्झिनुभयो भने नेपालको अर्थतन्त्र धान्दै आएको रेमिट्यान्सको थोरै हिस्सामा मेरो पसिना पनि मिसिएकै हो। तर समय सधैं एकनाश कहाँ हुँदो रहेछ र प्रधानमन्त्रीज्यू?

अहिले समग्र विश्व कोरोना भाइरसका कारण आक्रान्त छ। कोरोनाको चपेटामा परेको विश्वसामु निरीह भएर म विगत २ महिनादेखि कुवेतको बन्द कोठामा छु। कोठाको मासिक भाडा २० हजार छ। साथीहरु मिलेर बसेका थियौँ र भाडा तिरेका थियौँ। अहिले त न काम छ‚ न साथीहरु। फिलिपिनो साथीहरुलाई त्यहाँको सरकारले उद्धार गरेर लगिसक्यो। भारतीय साथीहरुलाई पनि १२ अप्रिलमा भारतले उद्धार गरेर लैजाँदैछ। त्यसपछि म एक्लैले कोठाभाडा कसरी तिर्ने? घर मालिकले कोठाबाट निकालेपछि म कहाँ जाने?

कुवेत सरकारले घर भाडा नलिनु त भनेको छ तर घरधनीले कम्पनीमा काम गर्नेलाई पो फ्रि भनेको तिमीहरुलाई होइन भनेको छ। दुई महिनादेखि हरेक रातहरु भोक र त्रासबीच बितिरहेका छन्। कोरोनाले भन्दा पनि भोकले मर्ने दिन आएको छ। दश नंग्रा खियाएर खाने मान्छे‚ अहिले भोक मेटाउनकै लागि माग्न बाध्य छु। कोही मनकारी मान्छेले दिए भने भोक टर्छ। कहिलेकाँही आँशु पिएर पनि अघाएकी छु।

देश लकडाउन छ। बन्द कोठामा आँशु पिएर जीन्दगीको हिसाब गरिरहेकी छु। कहिले काँही त लाग्छ यस्तै हो भने आफ्नो माटो टेकेर छोराछोरीका साथ मर्न पाउँदिन होला। छोराछोरीले मेरो मुख नदेखी परदेशमै मर्छु होला।

प्रधानमन्त्रीज्यू परदेशबाट म आँशुको मसीले पत्र लेखिरहेकी छु। सबै मुलुकहरुले समस्यामा परेका आफ्ना नागरिकहरुलाई उद्धार गरिरहेका छन्। तपाईं पनि देखिरहनुभएको छ। तर तपाईंको मुटुले कसरी ढुक्कको श्वास फेरिरहेको छ? परदेशमा भोकले छट्पटाइरहेका सन्तानको बाटो छेकेर?

म धेरै पढेको त छैन प्रधानमन्त्रीज्यू तर नेपाली भाषा बुझ्न, बोल्न र सामान्य लेख्न सक्छु। तपाईंहरुले भनिरहनु भएको छ, ‘सबै नेपाली जहाँ‚ जस्तो अवस्थामा हुनुहुन्छ ढुक्क भएर बस्नुस्। परदेशमा केही समस्या परे दूतावासले सहयोग गर्छ।’ तर यहाँ दूतावासको फोन उठ्दैन। केही दिनअघि बल्लबल्ल फोन उठ्यो। ‘तपाईं भारतको बाटो हुँदै आउनुभएको रहेछ। हामी तपाईंलाई केही गर्न सक्दैनौँ‚’ दूतावासले जवाफ दियो।

अब म कहाँ जाने?, पीडा कोसँग पोख्ने? सारा नेपालीको अभिभावक ठानेर म आज तपाईंलाई पत्र लेखिरहेकी छु। प्रधानमन्त्रीज्यू कि यो आपतकालीन अवस्थाभरी श्वास अल्झाउने व्यवस्था गरिदिनुस्, होइन भने देश फर्किने बाटो खुल्ला गरिदिनुस्। परदेशमा भोकभोकै मर्नुभन्दा बरु आफ्नै माटोमा भोकै मर्न चाहन्छु। बबिता बराइली शरणामती-६, झापा हाल कुवेत

-नेपाल लाइभ

Leave a Reply

Your email address will not be published. Required fields are marked *