कुवेतमा आममाफी पाएका ३५ सय नेपाली स्वदेश फर्किने अनुमति कुर्दै

२२ वैशाख, काठमाडौं । कुवेतमा झण्डै ३ हजार ५ सय नेपाली स्थानीय आश्रयस्थलमा अहिले सरकारबाट नेपाल फर्किने अनुमति कुरिरहेका छन् । उनीहरु आममाफी प्रक्रियामा सहभागी भएका अवैध हैसियतका कामदार हुन् ।

कुवेतले विना कैद तथा जरिवाना गैरकानूनी हैसियतका कामदारका लागि आममाफीका लागि आह्वान गरेपछि त्यस्ता कामदारहरु कुवेतको सरकारी आश्रयस्थलमा पुगेका छन् ।अहिले नेपालमा अन्तर्राष्ट्रिय उडानमा प्रतिवन्ध लगाइएको छ । विदेशबाट कोही पनि नेपाली स्वदेश आउन पाउँदैनन् । तर, कुवेत सरकारले उनीहरुलाई फर्काउने गरी दूतावासमार्फत नेपाल सरकारसँग पहल गरेको छ ।

नेपाल सरकारले क्वारेन्टाइन राख्ने प्रवन्ध गरेर नेपाल फर्किन अनुमति दिएपछि मात्रै उनीहरु आउन पाउने अवस्था छ ।कुवेतको आममाफी प्रक्रियामा सहभागीहरु भएकाहरु घर फर्किन लगेज र आफ्नो बन्दोबबस्तीका समान र आवश्यक तयारीसहित त्यहाँको सार्वजनिक खेल मैदान, विद्यालय, क्याम्पस, सार्वजनिक सभाहल लगायतमा पुगेका त्यहाँको दूतावासले जनाएको छ ।

कुवेतले आश्रयस्थलमा खाना र बस्नको प्रवन्ध गरेपनि व्यवस्थित वातावरण छैन । त्यस्ता आश्रय केन्द्रहरुमा नेपालीसहित थुप्रै देशका नागरिकहरुलाई मिसाएर राखिएको छ ।कुवेतले अपि्रल २६ देखि ३० सम्म अवैध नेपाली कामदारलाई घर फर्किने प्रक्रिया सहभागी हुन समय दिएको थियो ।

यही समयमा अवैध हैसियतमा रहेका कतिपय नेपाली तोकिएका केन्द्रहरुमा पुगेका थिए । नेपाली दूतावासका अनुसार ४ दिनका बीचमा करिब ३ हजार नेपालीले स्वदेश फर्किन ट्राभल डकुमेन्ट पाएका छन् । जो राहदानी नबोकी कुवेतमा बसेका थिए ।

कुवेतले अवैध कामदारलाई आफ्नै स्रोतबाट विमान चार्टर गरेर कामदार फर्काउने व्यवस्था गरेको छ । यसअनुसार यो प्रक्रिया सहभागी कामदारले निःशुल्क स्वदेश फर्किन पाउँछन् । यसरी फर्किने कामदारलाई पुनः कवेत फर्किन दिने निर्णय पनि त्यहाँको सरकारले गरेको छ । उनीहरुले कुवेतमा कुनै जरिवाना र कैद सजाय पनि भोग्नु पर्दैन ।

आश्रयस्थलमा रहेका नेपालीले जतिसक्दो छिटो नेपाल फर्काउने प्रवन्ध गर्न सरकारसँग आग्रह गरेका छन् । उनीहरुले आश्रय स्थलमा बस्न सकस हुने अवस्था रहेको भन्दै कुवेतबाट उद्दारको लागि हवाई मार्ग खोल्न माग गरेका हुन् ।

आश्रय स्थलमा रहेका कामदारलाई फिर्ता ल्याउन दिनेबारे छलफल थालिएको श्रम मन्त्रालयका एक अधिकारीले बताए । उनका अनुसार कुवेतमा करिब ७ हजार यस्ता कामदार रहेको अनुमान गरिए पनि आधा संख्यामा मात्रै आममाफी प्रक्रियामा आएको बताए ।

‘हामीले फिर्ता ल्याउने प्रवन्ध कसरी गर्ने भनेर छलफल थालेका छौं, कामदारलाई टिकट कुवेतले नै दिने भएकाले क्वारेन्टाइनको व्यवस्थानको मूल सवाल छ,’ ती अधिकारीले भने,’के गर्ने भनेर छलफलमै छौं ।’नेपालले कोभिड-१९को संक्रमणको अवधिभरि उनीहरुलाई कुवेतमै क्वारेन्टाइनमा राख्न पनि त्यहाँको सरकारसँग पहल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *