कुसुण्डा परिवारलाई छाक टार्ने चिन्ता

दमौली : सरकारले फेरी लकडाउन थप्ने निर्णय गरेपछि इन्द्रमाया कुसुण्डा तनावमा छिन्। व्यास १० डिहीगाउँका आफ्ना पति राजा मामाको निधन भएयता उनीमाथि परिवारको बोझ छ। छोरी सीमान्तको पठन पाठनसँगै घर चलाउने जिम्मा उनैको काँधमा छ।

लगातारको लकडाउनपछि घरमा भएको अन्न सकिन थालेपछि परिवारकी मुली ईन्द्रमाया चिन्तामा छिन्। पति हुँदासम्म विभिन्न जनजाति संघ संस्थाले सघाउँथे। तर, राजा मामाको निधनपछि आउने सहयोग घट्यो। केही अघिसम्म उनी पनि रोजगार थिइन्। अहिले जागिर पनि छुट्यो, सहयोग पनि ठप्प छ। सरकारले अल्प संख्यकलाई दिदै आएको मासिक दुई हजार भत्ताा बुझ्न नपाएको पाँच महिना भयो।

आम्दानीको अन्य श्रोत नभएकाले भान्सामा नुनतेल सकिनै लाग्यो। ‘सबै चिज सकिन लाग्यो पैसा पनि छैन,’ उनले भनिन्,‘राहत बाँढ्छन् भनेर नागरिकता लिएर गएको थिए, ‘अन्त त बाँढे अरे मैले त पाइन।’ लकडाउनको समयमा विपन्न र अशक्तले राहत पाउने उनले छिमेकीबाट सुनेकी थिइन्। आदिवासी जनजाति महासंघका पूर्व सचिव सनम तामाङसँग पनि इन्द्रमायाले समस्या पोखेकी छिन्। ‘राहत पाइएन सघाइदिनुप¥यो भनेर भन्नुभएको थियो,’ तामाङले भने,‘अल्पसंख्यक परिवारलाई वडाबाट राहत मिल्नुपर्ने हो खै के भएछ।’

यस विषयमा जिज्ञासा राख्दा व्यास १०का वडाध्यक्ष तुलसीराम सापकोटा सबै सामग्री ल्याउन नसक्दा केही ढिलो भएको बताउँछन्। ‘उहाँहरुको नाम हामीले नै मगाएर सूचीमा राखेका हौं,’ उनले भने,‘राहत वितरणका लागि सबै सामान नआइपुगेकाले केही ढिला भएको हो। उहाँले राहत पाउनुहुन्छ।’ वडा कार्यालयले हालसम्म कसैलाई राहत वितरण नगरेको सापकोटाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *