कोमल वलीले पशुपक्षीलाई दैनिक चार हजारको चारो दिँदै

काठमाडौं : यतिबेला लकडाउनले सबैतिर सुनसान छ। हामीले मान्छेका करुण आवाजहरू दिन प्रतिदिन सुन्दै र पढ्दै आएका छौँ। तर, कोरोनाको त्रासले मानिसको दैनिकी ठप्प मात्र भएको छैन। हाम्रा वरिपरि रहेका जीवजन्तुमा पनि यसले गम्भीर समस्या थप्दै गएको छ। फरक यति मात्र हो, मान्छेको आवाज छ। उनीहरूको करुण आवाजले जो कसैको मन कुँडिन्छ।

विडम्बना जीवजन्तुको करुण आवाज हामीले बुझ्न सकेका छैनौँ। आइतबार पशुपति क्षेत्रमा भेटिएकी सांसद कोमल वली परेवालाई चारो दिँदै गरेको भेटिइन्। उनी भन्दै थिइन्, ‘लकडाउनको अवधि पशुपक्षीले आहारा सेवन गर्न नपाएपछि पशुपति क्षेत्रमा परेवालाई गहुँ चारो हाल्न थालेकी हुँ।’

सहकार्य गरेर बाँदर र कुकुरलाई पनि आहारा : सरकारले लकडाउन गरिदिएपछि उपत्यकाका जीवजन्तु सबैभन्दा धेरै मारमा छन्। जीवजन्तुको सेवामा कैयौं व्यक्तिले व्यक्तिगत खर्चमा सेवा दिँदै आएका छन्। ती व्यक्तिहरुको कामले आफूलाई पनि प्रभावित गरेपछि जनावरहरूलाई खाना खुवाउने गरेको वलीले बताइन्।

‘लकडाउनको समय घरमै थिएँ एकदिन टोलमा कुकुरहरु कराइरहेको सुनेँ। घरबाहिर निस्किएर हेरेको ती कुकुर गेटमा थिए। तिनलाई खाना खुवाएँ। पछि याद आयो उपत्यकामा कति कुकुर बाँदर होलान जो भोकभोकै छन्। त्यसपछि खाना खुवाउँदै हिँड्ने गरेकी छु’, उनले भनिन्, ‘म एक्लैले मात्र होइन टोलमा रहेका अन्य साथीहरूसँग सहकार्य गरेर काम गर्दै आएकी हुँ।’

दैनिक चार हजार खर्च : लकडाउनका कारण बाहिर निस्किन अलि असहज भएको छ। त्यो असहजता आम नागरिकलाई पनि परिरहेको छ। अधिकाशं जनता घर भित्र रहदा वलि भने दुई दुई दिनमा खाना बोकेर उपत्यकाका विभिन्न स्थान पुग्ने गरेकी छिन्। उपत्यकाका दरबरमार्ग, भृकुटीमण्डप, सानेपा, जावलाखेलमा पुगेर उनले कुकुरलाई खाना खुवाएको बताउँछिन्।

सामान्यतया एक पटकमा कुकुरलाई मासुभात, बाँदरलाई शखरखण्डा, आलु,चराचुरुंगीलाई आहारा खुवाउँदा १०/१२ हजार जति खर्च लाग्ने गर्छ। उनी भन्छिन्, ‘सामान्यतया यो बेला आफूसँग जे छ त्यो नै आहारा खुवाउने हो। यो गर्दा पनि ४ हजार जति भने खर्च हुने रहेछ।’

अहिले सुनसान बजार भएकोले जनावरहरुलाई खानाको अलवा पानीको समस्या पनि उस्तै छ। उपत्यका विभिन्न ठाउँमा जनावरको लागि पानीको व्यवस्था गर्न सके अझ गज्जव हुन सक्ने उनले बताइन्।

उनले भनिन्, ‘बाहिर निस्किन नसक्ने व्यक्तिहरुले घरको छत र आँगनमा चामल, मकै छर्दा पनि हुन्छ। ता कि चराहरू आएर खान सकून्।’ यो संकटमा आफू पनि बचौँ अरूलाई पनि बचाऊँ भन्ने अभियानमा जसले जहाँबाट हुन्छ, सेवा गर्नुपर्ने उनी बताउँछिन्। भन्छिन्, ‘कोरोनाले त्रसित बनाएको अवस्था छ। आत्मबल भने कमजोर नपारौँ। आफू बँचेर अरूलाई पनि बचाऊँ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *