कोरोनाका डाक्टरले नै पाएनन् बस्ने क्वारेन्टाइन

सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कोरोना भाइरस संक्रमित र शंकास्पद बिरामीको उपचारमा संलग्न चिकित्सकले क्वारेन्टाइनमा बस्न होटलमा कोठा नपाएको गुनासो गरेका छन् । कोरोनाको उपचारका लागि नियुक्त गरिएका अस्पतालका फोकल पर्सन डा. रंजीत झाका अनुसार राजविराजका कतिपय होटल सञ्चालकलाई क्वारेन्टाइनका लागि अनुरोध गरिसकेको भएपनि होटल दिन तयार भएका छैनन् ।

‘राजविराजका ३ वटा होटल यस्ता छन्, जसमा हामी सबै स्वास्थ्यकर्मीदेखि चिकित्सक अटाउन सक्छौं तर कुनै पनि होटल सञ्चालकले होटलमा कोठा दिन मानेका छैनन्,’ डा. झाले लोकान्तरसँग भने । कोरोनाको उपचारमा संलग्न स्वास्थ्यकर्मीले अनिवार्य रुपमा छुट्टै क्वारेन्टाइनमा बस्नुपर्ने विश्व स्वास्थ्य संगठनले मापदण्ड रहेको छ । उपचारका क्रममा भाइरसको संक्रमण हुनसक्ने र घरपरिवारका अन्य सदस्यमा संक्रमण होस् भनेर क्वारेन्टाइन अनिवार्य गरिएको छ ।

डा. झाका अनुसार होटल सञ्चालकले बहाना गर्ने गरेका छन् । ‘होटलका स्टाफ नै छैनन्, घर गइसके । होटल बन्द गरिसकेका छौं । कोठाको भाडा लाग्ने तर कोठा उपलब्ध गराएपनि खाना पकाउनदेखि अन्य कामका लागि कर्मचारीहरू तपाईंहरूले आफ्नै राख्नुपर्ने, होटल धेरै दिनदेखि सफा नै नभएको भनेर बहाना बनाउने गरेका छन्,’ उनले भने, ‘मेयर, सीडीओ सा’पलाई समेत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जानकारी गराइसकेका छौं तर हामी होटलका लागि प्रशासनको हस्तक्षेप गराउन चाहँदैनौं ।’

राजविराजमा १२ शय्या कोरोना उपचारका लागि छुट्याइएको छ । ६ शय्याको ‘एडमिसन वार्ड’ र ६ शय्याको ‘स्क्रिनिङ वार्ड’ छुट्याइएको छ । कोरोना उपचारको लागि संघीय सरकारले अस्पताललाई तोकेको छ । कोरोनाको उपचारको लागि २१ जना चिकित्सक तथा १२ जना नर्सलाई खटाइएको छ । ७ जना चिकित्सक र ४ जना नर्स गरेर ३ वटा समूह बनाएर प्रत्येक ७/७ दिनमा अलग–अलग समूहलाई खटाइएको छ ।

‘७ दिन एउटा टीमले काम गर्ने र १४ दिन क्वारेन्टाइनमा गएर बस्नुपर्ने, फेरि अर्को टीम ७ दिनका लागि आउने र क्वारेन्टाइनमा बस्ने गर्दै आलोपालो ड्यूटी दिएका छौं,’ झाले भने, ‘हालसम्म कोरोना पोजेटिभ केस नभेटिएकाले क्वारेन्टाइनमा बसेका छैनौं तर अब क्वारेन्टाइन आवश्यक छ । अहिले १ जना आरडीटी पोजेटिभ केस भएका बिरामी भर्ना छन् ।’

अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी अस्पतालको आवासमा परिवारसँगै बस्दै आएकाले अब जोखिम बढेको अवस्थामा छुट्टै क्वारेन्टाइनको व्यवस्था हुनुपर्ने डा. झाको अनुरोध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *