कोरोनाका रोगीले अर्को मानिसको मुखमा थुके, केही समयपछि मृत्यु

थाइल्यान्डको बैंककमा कोरोनाभाइरसका एक रोगीले ट्रेनको टिकट किन्नका लागि लाइनमा बस्दै गर्दा अर्को मानिसको अनुहारमा थुकेका छन् । पछि थुक्ने ती व्यक्ति रेलको डब्बामा मृत अवस्थामा भेटिए । अनान साहो नामक ती व्यक्तिलाई सोमवार ट्रेनको डब्बामा मृत फेला पारिएको हो । त्यसअघि यात्रामा उनले लगातार खोकेको र बान्ता गरेको बताइएको छ ।

बैंकको ट्रेन स्टेसनमा रहेको सीसीटीभीको फूटेजमा साहोले टिकट किनिरहेका अर्का व्यक्तिलाई थुकेको देखिन्छ । थुकिएका व्यक्तिलाई अधिकारीहरूले खोजिरहेका छन् । ती व्यक्तिमार्फत अन्यमा भाइरस सर्ने डर छ । साहो बैसाखी लिएर हिँडिरहेका देखिन्छन् । पाकिस्तानबाट आएका उनी बैंककबाट नाराथिवाट जान खोज्दै थिए ।

बैंककको बाङसु स्टेसनमा उनले अज्ञात यात्रुलाई थुकेका थिए । त्यसपछि ट्रेन चढेर गन्तव्यतर्फ जाँदै गर्दा उनी बाटैमा बितेका थिए । उनलाई स्टेसनमा तापक्रम जाँच्दा ९६.८ फारेनहाइट मात्र देखिएको थियो । सामान्य तापक्रमका कारण कसैले पनि उनीमाथि शंका गरेन । तर यात्राका क्रममा उनलाई खोकी लाग्यो र उनले बान्ता समेत गरे । त्यसबीचमा ट्रेनका एक कर्मचारीले उनको तस्वीर खिचे अनि आईडी कार्ड पनि लिए । तर हुआ हिन रेलवे स्टेसन पुग्दा उनको स्वास्थ्यमा सुधार आएको थियो ।

फेरि एकपटक तापक्रम लिँदा सामान्य नै पाइयो । अधिकारीहरूले उनलाई हुआ हिनमा आराम गर्न भने तर उनले यात्रा जारी राख्ने अड्डी लिए । राति सबा १० बजेतिर चाहिँ उनी शौचालयअगाडि ढलिरहेको अवस्थामा भेटिए । त्यतिखेर ट्रेन थाप साकाए जिल्ला पुगेको थियो । स्वास्थ्यकर्मीहरूले उनको मृत शरीरको परीक्षण गर्दा कोभिड–१९ देखियो । उनलाई मधुमेह पनि थियो । अन्य यात्रुहरूलाई तत्कालै त्यो डब्बाबाट बाहिर ल्याइयो । डब्बालाई ट्रेनबाट छुट्ट्याइयो । डब्बालाई सुरक्षा वस्त्र लगाएका कामदारले संक्रमणमुक्त बनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *