कोरोनाको उच्च जोखिम भन्दै विभिन्न जिल्ला लकडाउन, विना काम घरबाहिर निस्कन नपाइने

काठमडौं, १० चैत । कोरोना भाइरस (कोभिड नाइन्टिन )को जोखिम बढ्दै गएपछि भारतसँग सीमा जोडिएका अधिकांश जिल्ला लकडाउन भइरहेका छन् भने अन्य जिल्लाले समेत आवतजावतमा रोक लगाएका छन् । कतै जोर–बिजोर त कतै कफ्र्यु नै लगाइएको छ ।

सरकारले कोरोना भाइरसको उच्च जोखिम देखिएसँगै सार्वजनिक यातायात र उडान बन्द गर्ने निर्णय गरेसँगै हजारौं नेपाली थातथलो फर्किन थाले । हजारौं मानिस एक साथ सीमाबाट नेपाल प्रवेश गर्दा स्वास्थ्य परीक्षण हुन सकेन ।

साथै, केहीमा ज्वरो समेत देखिएपछि क्वारेन्टाइनमा राखियो । तर, जोखिम बढेको भन्दै चौतर्फी विरोध भएसँगै भारतसँग सीमा जोडिएका जिल्लालाई लकडाउन गर्न थालिएको छ । यसैबीच, आइतबार सरकारले सीमानाका एक साता बन्द गर्ने निर्णय भएपछि थप अन्य जिल्ला पनि सोमबार र मंगलबारबाट ‘लकडाउन’ गर्न सुरु गरेका छन् ।

काठमाडौंमा दोस्रोपटक कोरोना संक्रमित भेटिएको खबर प्रसारण भएलगत्तै सोमबार जनकपुर उद्योग वाणिज्य संघले आकस्मिक बैठक बोलाएर तत्काल ६ दिनका लागि बजार बन्द गर्ने घोषणा गरेको छ भने प्रदेश दुई सरकारले लकडाउन गरिने जनाएको छ । सिन्धुलीमा समेत ‘सेमी लक डाउन’ गरिएको छ । यस्तै, सार्वजनिक सवारी जिल्ला बाहिर र भित्रिन नदिन काभ्रेको बनेपा समेत लकडाउन गर्ने जिल्ला प्रशासन कार्यालयले निर्णय गरेको छ । बर्दियामा पनि उच्च सर्तकता अपनाइएको छ ।

स्वघोषित रुपमा स्थानीयबासीले सर्तकता अपनाएपछि बर्दियामा चहलपहल घटेको छ भने स्वतः लकडाउनको अवस्थामा पुगेका छन् । गुल्मी जिल्लालाई पनि सोमबार रातिदेखि लकडाउन गरिने भएको छ । अत्यावश्यक बाहेक बाहेक अन्य निजी सार्वजनिक, भाडाका सवारीसाधन र मोटरसाइकल पनि रातिदेखि अर्को सूचना नभएसम्मका लागि पूर्णरुपमा आवत (जावतमा प्रतिबन्ध लगाइएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भोलिदेखि जोरविजोर प्रणाली लागू हुने भएको छ ।

यस्तै, डोटीले मंगलबारदेखि निषेधाज्ञा (कर्फ्यू) जारी गरेको छ भन जिल्ला प्रशासन कार्यालय जुम्लाको आइतबार बसेको विपद् व्यवस्थापन समितिले सोमबारदेखि एक साता जिल्लालाई लकडाउनु गर्ने निर्णय गरेको छ । त्यसैगरि विराटनगर महानगरपालिकामा मंगलबारदेखि अनिश्चितकालीन लक डाउन हुने भएको छ ।

यता, सोमबारबाट अर्घाखाँची जिल्ला पनि ‘लक डाउन’ भएको छ । यस्तै, चितवन पनि अर्को आदेश नहुन्जेलसम्मका लागि लकडाउन गरिएको छ । यसअघि आइतबार रातिबाट कञ्चनपुर लकडाउन भएको छ भने अपराह्नबाट कैलाली समेत लकडाउन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *