कोरोनाको डरका कारण गाईभैंसीलाई पनि मास्क

एजेन्सी। कोरोनाको प्रकोप फैलिँदै गएपछि मानिसहरू मास्क प्रयोग गरिरहेका छन् । हुँदाहुँदा अब भारतमा गाउँलेहरूले गाईभैंसीलाई पनि मास्क लगाइदिन थालेका छन् ।

भारतको मध्य प्रदेशको चन्देरी गाउँमा कोरोना संक्रमण फैलिन नदिन भैंसी र गोरुलाई मास्क लगाउन थालिएको छ । जनावरबाट कोरोना नफैलियोस् भनी त्यसो गरिएको हो ।

अहिले गहुँको कटाइ भइरहेको छ । गाउँलेहरूले गाडा गुडाउने गोरुलाई मास्क लगाएर नै खेततिर लग्ने गरेका छन् । खेतबाट गाउँमा आउँदा संक्रमण नफैलियोस् भनी पशुलाई मास्क लगाइएको हो ।

किसान हरिसिंहले भने, ‘कोरोना रोग फैलिरहेको छ । पशुहरू जमीनमा भएको फोहरी कुरा सुँघ्दै हिँड्छन् । त्यसबाट घरमा रोग फैलिन सक्छ । त्यसैले हामीले मास्क लगाइदिएका हौं । खेत जाँदा र आउँदा दुवै समयमा गोरुहरूलाई मास्क लगाइदिने गरेका छौं ।’ पशुहरूका लागि ठूलो साइजको मास्क लाग्ने भएकाले विशेष मास्क गाउँमा नै तयार पारिँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *