कोरोनाभाइरसका बेला नेपालीको ‘सहानुभूतिको भावना’को राजकुमार ह्यारीले गरे प्रशंशा

काठमाडौं। कोरोनाभाइरसका विनाशकारी महामारीका बेला नेपालीहरुको अविचलित सहानुभूतिको भावनाको बेलायतका राजकुमार ह्यारीले प्रशंशा गरेका छन् । राजकुमार ह्यारीले एक भिडियो सन्देशमा यस्तो विचार व्यक्त गरेका हुन् जुन सन्देश ट्रेलवाकर युकेले आफ्नो १०० किलोमिटर परोपकारी रिलेको प्रचारको लागि जारी गरेको हो । यो रिले अक्सफाम र गोर्खा कल्याणकारी कोषलाई सहयोग गर्नको लागि आयोजना हुन लागेको हो ।

यी दुई संस्थाले कोरोनाभाइरस महामारीका कारण नेपालमा समस्यामा परेकाहरुलाई सहयोग गर्ने लक्ष्य राखेका छन् । राजकुमार ह्यारीले अहिलेको महामारीलाई नेपालमा सन् २०१५ मा गएको विनाशकारी भूकम्पसँग तुलना गरेका छन् जुन भूकम्पमा करिब ९ हजारले ज्यान गुमाएका थिए र ३५ लाखले घरबास गुमाएका थिए । उनले यी दुवै संकटका बेला नेपालीहरुमा देखिएको सहानुभूतिको भावनाको प्रशंशा गरेका छन् ।

उनले भने ‘झण्डै ५ वर्ष अगाडि म त्यहाँका समुदायलाई भेट्न, परिवारलाई भेट्न र देशले विनाशकारी २०१५ भूकम्पपछि कसरी सुरुवाती पुनर्निर्माण गरिरहेको छ भनेर हेर्न नेपाल गएको थिएँ । भवन, मन्दिर, घरहरु र पूरै गाउँ पूरै विनाश भएका थिए । तर यो प्रस्ट थियो कि नेपालीहरुले सामना गरे। उनीहरुको भावना र उनीहरुको परिस्थितिसँग घुलमिल हुन सक्ने भावना कहिल्यै कमजोर भएन । त्यहाँ एक अर्काप्रति सहयोग र सहानुभूतिको प्रस्ट भावना थियो ।’

‘अहिले कोभिड–१९ को साथमा पनि विश्व नयाँ चुनौतीको अगाडि उभिएको छ, जो आफैंमा विनाशकारी छ । र, म यो देख्दा पुलकित भएको छु कि नेपालीहरुको भावना अहिले पनि अविचलित छ’ ह्यारीले भने । उनले नेपालमा पीपीइ किट उपलब्ध गराउन, हात धुने सुविधा स्थापना गर्न र शिक्षाको क्षेत्रमा सहयोग गर्ने लगायत अक्सफाम र गोर्खा कल्याणकारी कोषले गरेका कामहरुबारे बताए । उनले थपे ‘यी संस्थाहरुको अत्यन्तै कठिन परिस्थितिमा समुदायलाई यो भाइरसलाई पराजित गर्न र जीवन बचाउन एकसाथ मिलेर सहयोग गरिरहेका छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *