कोरोनालाई जितेकी काठमाडौंकी प्रसिद्धिको यस्तो अनुरोध

काठमाडौं। काठमाडौंकी प्रसिद्धि श्रेष्ठमा कोभिड-१९ देखिनुअघिसम्म नेपालमा एक जनामा मात्र संक्रमण पुष्टि भएको थियो, त्यो पनि दुई महीना पहिले। ९ माघमा कोभिड-१९ पुष्टि भएका एक जना पुरूष निको भएर अस्पतालबाट घर फर्किसकेका थिए। त्यसको दुई महीनापछि फ्रान्सबाट आएकी प्रसिद्धिमा पनि संक्रमण देखियो। प्रसिद्धिमा संक्रमण देखिएकै दिन ९ चैतमा बसेको मन्त्रिपरिषद्ले देशव्यापी लकडाउन गर्ने निर्णय गर्‍यो। जुन चरणबद्ध रूपमा थप गरिँदै अहिलेसम्म जारी छ। १९ वर्षीया प्रसिद्धिमा संक्रमण देखिएपछि नेपालमा कोरोना भाइरसको संक्रमण अरूमा पनि भएको हुनसक्छ भन्ने आशंका अझ बलियो भएको थियो।

उनी विदेशबाट आउनासाथ सेल्फ आइसोलेसनमा बसेकी थिइन्। उनलाई लाग्छ- उनले यो भाइरस न त उनका परिवारका सदस्यलाई न त अरू कसैलाई सारेकी छन्। यद्यपी, भाइरसको संक्रमण पुष्टि भएर अस्पतालमा बस्दै गर्दा उनले धेरै घृणा र नकारात्मक कुरा सुन्नुपर्‍यो। सर्वसाधारणमा मात्र होइन मिडियामा पनि उनका बारेमा विभिन्न टिप्पणीहरू भएका थिए। सेल्फ आइसोलेसन र सोसल डिस्टेन्सिङले भाइरसको संक्रमण हुनबाट जोगाउने बताउने प्रसिद्धि सबैलाई यी उपाय अवलम्बन गर्न सुझाउँछिन्। युनिसेफ नेपालले ट्वीटरमा अपलोड गरेको उनको सन्देशमा उनले भनेकी छन्- ‘दोषारोपण अन्त्य गरौं, सद्‌भाव फैलाऔं।’

यस्तो छ उनको सन्देश: मेरो नाम प्रसिद्धि श्रेष्ठ हो र म १९ वर्षकी हुँ। नेपालमै कोरोना संक्रमित भएको म दोस्रो व्यक्ति थिएँ। ममा भाइरस भएको पत्ता लाग्दा देशमा अरू कुनै पनि एक्टिभ केसहरू थिएन। ममा संक्रमण देखिएपछि नेपालमा कोरोना भाइरस भएको हुनसक्ने सम्भावना अझ बलियो भयो र देशमा लकडाउन शुरू भयो। कोरोना भाइरसको संक्रमण पुष्टि भएर अस्पतालमा बस्दै गर्दा मैले धेरै घृणा र नकारात्मक कुराहरू सुन्नुपर्‍यो। सर्वसाधारणमा मात्र होइन मिडियामा पनि मेरा बारेमा विभिन्न टिप्पणीहरू भए। २७ दिन अस्पताल बसेपछि मेरो कोरोना भाइरस टेष्ट नेगेटिभ देखियो र म घर फर्केकी छु।

मलाई अब ठीक भइसकेको छ र म स्वस्थ पनि छु। मैले थाहा पाएसम्म मैले यो भाइरस न त मेरो परिवारको सदस्यलाई न त अरू कसैलाई पनि सारेको छु। किनभने म विदेशबाट आउनुसाथै सेल्फ आइसोलेसनमा बसेको थिएँ। सेल्फ आइसोलेसनमा बस्दा मैले मास्क, चश्मा र पन्जा लगाएको थिएँ। सेल्फ आइसोलेसन र सोसल डिस्टेन्सिङले तपाईं र तपाईंको वरपरको मानिसलाई पनि भाइरस संक्रमण हुनबाट जोगाउँछ। त्यसैले यी लगायत कोरोना भाइरसबाट जोगिने उपायहरूको सक्दो पालना गर्नुहोस्। एक/एक जनाले आफूलाई जोगाउन गरेको प्रयासले अरूलाई पनि जोगाउँछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *