कोरोना आएर ठीकै भयो, घिनलाग्दा मानिससँग हात मिलाउनुपरेन : ट्रम्प

अमेरिकाका उपराष्ट्रपति माइक पेन्सकी सहयोगीले पदबाट राजीनामा दिएकी छन् । ट्रम्प प्रशासनले महामारी व्यवस्थापनमा राम्रो काम गर्न नसकेकोमा असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएकी हुन् । ट्रम्पलाई पुनः निर्वाचन जित्ने ध्याउन्न मात्र रहेको उनले बताइन् ।

पेन्सका लागि कोरोनाभाइरस कार्यदलकी सल्लाहकार पदबाट राजीनामा दिएकी ओलिभिया ट्रोएले कोरोना आउँदा ट्रम्प खुशी भएको दाबी गरिन् । यो कोभिड राम्रै कुरा रहेछ । मलाई मानिसहरूसँग हात मिलाउन मन लाग्दैन । घिनलाग्दा मानिसहरूसँग मैले हात मिलाइरहनुपरेको छैन,’ ट्रम्पले कोरोनाभाइरस कार्यदलको एक बैठकमा भनेको भनी ट्रोएले एक भिडियोमा बताइन् ।

घिनलाग्दा मानिस भनेर ट्रम्पले ठ्याक्कै कसलाई इंगित गरेका हुन् भनी ट्रोएले स्पष्ट पारिनन् तर ट्रम्पकै निकटका मानिस तथा उनलाई समर्थन गर्नेहरू नै भएको संकेत दिइन् । अर्को एक अन्तर्वार्तामा ट्रोएले अमेरिकी नागरिकको स्वास्थ्यका विषयमा ट्रम्पलाई मतलबै नभएको किनकि उनको पूरा ध्यान अर्थतन्त्र र पुनः निर्वाचन जित्नेमै केन्द्रित रहेको दाबी गरिन् । यसले गर्दा कोरोनाभाइरस व्यवस्थापनमा ट्रम्प प्रशासन विफल भएको उनको कथन छ ।

ट्रम्पले महामारीमा आफ्नो प्रशासनको कामलाई निरन्तर प्रशंसा गर्ने गरेका छन् । उनीहरूले महान् काम गरेको र आफू नभएको भए परिस्थिति झनै खराब हुन सक्ने उनले बताउँदै आएका छन् ।

बुधवार ट्रम्पले कोभिड–१९ विरुद्धको अमेरिकी खोप तीनदेखि चार हप्तामा तयार हुने बताए । विपक्षी डेमोक्रेटहरूले नोभेम्बरमा हुने निर्वाचनअघि खोप बनाउन हतार गरेको भन्दै ट्रम्पको आलोचना गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *