गुलरिया : आइतबार बाँकेको नेपालगञ्जमा कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेसँगै बर्दियामा थप कडाई गरिएको छ । एकैदिन नेपालगञ्ज सहरमा धेरै संख्यामा कोरोना संक्रमित फेला परेपछि बर्दियाको सिमाना शील गर्दै कडाई गरिएको हो ।
बाँके जिल्लाबाट भइरहेको आवागमन तथा ढुवानीलाई थप कडाई गर्दै बाँकेबाट बर्दिया भित्रिने हरियो तरकारी, फलफूल, कोइला, तोरी, जंकफुडलगायतका सामग्री ढुवानीमा रोक लगाइएको जिल्ला प्रशासन कायर्यालय बर्दियाका प्रशासकिय अधिकृत नारायण प्रसाद ढकालले बताए ।
जिल्ला विपद व्यवस्थापन समिति बर्दियाको बैठकले अर्को सूचना नहुञ्जेलसम्मका लागि बाँकेसँगको सीमानामा कडाई गर्ने निर्णय गरेको हो । लकडाउन अवधिभर खाद्यान्न ढुवानी, खाली फिर्ता सवारी साधन, निर्माण सामग्री, उपभोग्य खाद्यान्न, कुखुरा÷अण्डा, दाना, कृषिमल लगायतका ढुवानी बेलुकी ७ बजेपछि मात्र हुने जानकारी दिए । जिल्ला प्रशासन कार्यालय बर्दियाले सूचना जारी गर्दै स्थानीय बजारमा उपभोग्य सामग्री खरिद बिक्रीको समय दिन तोकेको छ ।
जसअनुसार आइतबार, मंगलबार र बिहीबा बिहान ७ बजेदेखि ११ बजेसम्म सामाजिक दूरी कायम गरी पसल खुल्ने समय सीमा तोकेको हो । छिमेकी जिल्लामा संक्रमण बढेसँगै बर्दियामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिम नियन्त्रण र रोकथामका लागि कडाई गर्नु परेको प्रष्ट्याउँदै सबैलाई लकडाउनको नियम पालना गर्न अनुरोध गरिएको छ ।
समुदायमा कोही व्यक्ति भारत वा तेस्रो मुलुक वा संक्रमण देखिएको जिल्लाबाट लुकीछिपी आएको सूचना पाए सुरक्षा निकाय वा पालिकामा जानकारी गराउन जिल्ला प्रशासन कार्यालय बर्दियाले आग्रह गरेको छ ।