कोरोना बिरामी हेरिरहेकी नर्स भन्छिन्ः एकपटक नेपाल पुगेर छोराछोरीलाई अंगालोमा बेर्न पाए

विश्वभर कोरोना भाइरसको त्रास बढिरहेका बेला सुनिता भगत आफूमा अरू बेलाभन्दा बढी जिम्मेवारी थपिएको महशुस गरिरहेकी छिन्। सप्तरी कठोना बजारमा जन्मिएकी भगत न्यूयोर्कको क्विन्स सहरमा बस्न थालेको चार वर्ष तीन महिना भयो। उनका एक छोरा, एक छोरी र श्रीमान भने नेपालमै छन्।३५ वर्षीया भगत नर्स हुन्। विगत तीन वर्षदेखि न्यूर्योकको म्यानह्याटन सहरस्थित हार्लेम अस्पालमा काम गर्दैछन्। एक महिनायता भने कोरोना संक्रमित बिरामीको हेरचाहमा उनको सक्रियता बढेको छ।

सातामा चार दिन दैनिक १२ घन्टा कोरोना संक्रमितको सेवामा तल्लीन हुन्छिन् उनी। ‘हरेक दिन ५ देखि ७ जना संक्रमित बिरामीको हेरचाह गर्नु पर्छ,’ इन्टरनेटमार्फत कुराकानी गर्दै भगतले भनिन्। अमेरिकामा कोरोना संक्रमित संख्या दुई लाख २० हजार हाराहारी पुगेको छ। सबभन्दा बढी न्यूयोर्क राज्यमै छन्। अमेरिकाभर पाँच हजार ६ सय बढीको ज्यान गइसक्यो।

न्यूयोर्क लकडाउन छ। दिनानुदिन संक्रमित बढेका कारण लकडाउन बढ्नसक्ने भगत अनुमान गर्छिन्। ‘लकडाउन भए पनि फुर्सदै छै। सातामा चार दिन रेलबाट एक घन्टा यात्रा गरेर अस्पताल पुग्छु,’ उनले भनिन्। भगतसँगै काम गर्ने केही सहकर्मी कोरोना संक्रमित भएका छन्। यो देखेर उनी धेरै हतासिएकी छैनन्। तर सँगै काम गर्ने साथीहरू नै संक्रमित भएपछि उनको मनमा डर पक्कै छ।

‘काम गर्दागर्दै छोराछोरी र परिवारको यादले सताउँछ,’ यस्तो बेला त्रास झनै बढ्ने उनी बताउँछिन्, ‘त्यसैले हरेक दिन दुईपटक परिवारसँग सम्पर्क गरेर चित्त बुझाउँछु।’ परिवारका सदस्य पनि भगतको स्वास्थ्यप्रति निकै चिन्तित, त्रसित छन्। तर परिवारले पेसागत दायित्व बुझेका छन् र काम गर्ने ढाडस दिँदै आएको उनी बताउँछिन्। परिवारको समर्थनले नै चुनौतीका बावजुद उनमा काम गर्ने उत्साह बढाएको छ।

मधेशका कतिपय ठाउँमा अझै छोरीलाई पढाउन हुँदैन, चाँडै बिहे गर्नुपर्छ भन्ने सोच कायम छ। तर उनका अभिभावकले भगतसहित चार दिदीबहिनी र एक दाजुमा केही भिन्नता नगरी पढ्न प्रेरणा दिएको उनी बताउँछिन्। छोराछोरी दुवैले पढ्नैपर्छ भन्ने उनको बुवा विन्देश्वरी भगतको सोच थियो। आमा सोफादेवीले पनि छोराछोरीको पढाइमा निकै चासो राखिन्, सधैं हौसला दिइन्।

मध्यम परिवारमा हुर्किएकी भगतले सन् २००० मा सरकारी स्कुलबाट प्रथम श्रेणीमा एसएलसी पास गरेकी हुन्। त्यसपछि नर्सिङ क्याम्पस, नेपालगञ्ज पढेकी उनले पछि वीर अस्पताल, नर्सिङ क्याम्पसबाट नर्सिङमा स्नातक (बिएन) सकिन्।

त्यसलगत्तै वीरमै तीन वर्ष पढाइन्। सन् २०१६ मा न्यूर्योक पुगेकी उनले फेरि बिएन गरिन् र अमेरिकामा ‘रजिस्टर्ड नर्स’ भइन्। अब उनी स्नातकोत्तर गर्ने तयारीमा छिन्। विदेशी भूमिमा बसेर यो दुःखको घडीमा उनी आफ्ना अभिभावक सम्झेर कृतज्ञ हुन्छिन्। उनका श्रीमान, एक छोरा र एक छोरीका साथमा कुपन्डोल बस्छन्। श्रीमानको आफ्नै व्यवसाय छ। छोरा तीन कक्षा र छोरी आठ कक्षा पढ्छन्।

भन्छिन्, ‘यी बच्चाका यादले कहिलेकाहीँ एकपटक नेपाल पुगेर अंगालोमा बेर्न पाए…भन्ने लाग्छ। औधी माया गर्न मन लाग्छ। यो महामारी समय र साथमा परिवार नहुनुको पीडा शब्दमा व्यक्त गर्न सकिने खालको छैन। म भन्नै सक्दिनँ।’ तर, उनी कति त्यस्तै छोराछोरीको यादमा छटपटाइरहेका कोरोना संक्रमितका उपचारमा खटिन्छिन्। उनीहरू निको भएर गएपछि उनलाई निकै खुसी लाग्छ र लामो सास फेर्छिन्।

‘आफ्ना आमाबुवा निको भएर घर पुग्दा कति खुसी होलान् ती बच्चाहरू,’ उनी सोच्छिन्। यहीबीच आफूलाई पनि सम्झाउँछिन् र चित्त बुझाउँछिन्। उनी हरेक बच्चा र आमाबुवाले यो संक्रमणबाट जोगिन खानेकुरादेखि सबै कुरामा ध्यान दिनुपर्ने बताउँछिन्। अमेरिकामा उनी आफ्नी कान्छी बहिनीसँग बस्छिन्। संक्रमितको उपचारमा लागेपछि भने उनले आफूलाई ‘आइसोलेट’ गरिरहेकी छिन्। अहिले आफ्नी बिहिनीका छोराछोरीलाई बोक्दिनन्। छुट्टै खाना खान्छिन्। आफूबाट टाढै रहन उनीहरूलाई सुझाउँछिन्।

त्यस्ता बिरामीको हेरचाहमा खटिँदा उनी मास्क, पिपिई, पन्जा, बुट, गाउन, आइग्लास लगाउँछिन्। एकपटक प्रयोगमा आएका यी सामग्री दोहोर्याएर नलगाए पनि पूरै ढुक्क हुन नसक्ने उनी बताउँछिन्। ‘कतै यो भाइरसबाट आफू पनि संक्रमित हुने त होइन? भयो भने अरूलाई समेत समस्या हुन्छ,’ उनी सोच्छिन् र हरेक क्षण सचेत रहन्छिन्।

उनका आफ्ना आँखाअघि कति संक्रमितको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा अधिकांश ७० उमेर कटेका, क्यान्सरका बिरामी, मुटुरोगी, फोक्सोको समस्या, मिर्गौला प्रत्यारोपण र उच्च रक्तचापका बिरामी रहेको उनले बताइन्। कोराना संक्रमित उनका कति सहकर्मी निको भइसके, कति आइसोलेसनमा छन्। संक्रमित भए पनि धेरै त्रसित हुन नहुने उनी बताउँछिन्।

‘कोरोना संक्रमण हुनसाथ मरिन्छ भन्ने त्रास दिमागबाट हटाउनुपर्छ। रोग प्रतिरोधात्मक क्षमता बढाउने झोलिलो खानेकुरा, ताजा फलफूल, सागसब्जी, गेडागुडी खानुपर्छ र सरसफाइमा ध्यान दिए धेरै डराउन पर्दैन,’ उनी सुझाउँछिन्। कोरोनाका लक्षण उच्च ज्वरो, सुख्खा खोकी, टाउको दुख्ने, सास फेर्न गाह्रो हुने, गन्ध र स्वाद थाहा नपाउने लगायत हुन्। यस्तो शंका लागेमा आफूलाई आइसोलेट गर्ने, प्यारासिटामोल खाने, भिटामिन सी र पोषणयुक्त खाना खान पनि उनी सुझाव दिन्छिन्!

Leave a Reply

Your email address will not be published. Required fields are marked *