कोरोना भाइरसको संक्रमण हुन नदिन जनता कर्फ्यु उपयुक्त

काठमाडौं । कलाकार दीपकराज गिरीले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिमबाट बच्न जनता कर्फ्युकाे आवश्यकता रहेको बताएका छन् । रोग लाग्न दिनुभन्दा रोगको बाटो छेक्नु नै उपयुक्त भएको भन्दै अहिले नै जनता कर्फ्यु लगाए कोरोनाको सं क्रमणको जोखिम कम हुने उनी बताउँछन् । भारतले यसको प्रयोग गरिसकेको अवस्थामा नेपालमा पनि सान्दर्भिक हुने उनको भनाइ छ ।

“सीमित स्रोत र साधनका कारण संक्रमण फैलिएको अवस्थामा त्यसको न्यूनिकरण कठिन हुन्छ,” दीपकराज बाह्रखरीसँग भन्छन्, “संक्रमण लाग्नुभन्दा अगाडि नै सचेतना अपनाउँदै एकअर्काबाट टाढा रहन सकियो भने पछि पछुताउनै पर्दैन । करिब करिब सबै बाह्य गतिविधि ठप्प भएको अवस्थामा जनता कर्फ्यु लगाउँदा राम्रो हुन्छ ।”

उनले सरकारले दिएको निर्देशन पालना गर्न आग्रह गर्दै घरमै बस्न सबैसँग आग्रह गरे । परिवारसँग बस्न आग्रह गर्दै उनले कुन दिन के गर्ने तालिका बनाएर काम गर्न सुझाव दिए । “कुन दिन के गर्ने हो एक हप्ताको सेड्युल बनाउँदा दिन कटाउन गाह्रो हुँदैन । कुन दिन चलचित्र हेर्ने, कुन दिन गीत सुन्ने, कुन दिन लुँडो खेल्ने र कुन दिन पढ्ने तालिका बनाएर त्यही अनुसार चल्ने हो भने घरमै बस्न कठिन हुन्न,” दीपकराज भन्छन् ।

कोरोना भाइरसबाट कसरी बच्ने भन्नेबारे चेतना जगाउनु कलाकारको दायित्त्व भएको भन्दै उनले हरेक दिन केही न केही सन्देश लिएर आउने उनले बताए। चलचित्र ‘छक्का पञ्जा’को टिम बसेर कोरोना बिरुद्ध चेतना फैलाउने भिडियो निर्माण गर्ने तयारी भइरहेको पनि उनले जानकारी दिए ।

यो फुर्सदका समयलाई परिवारसँग बस्ने अवसरका रुपमा प्रयोग गर्नुपर्नेमा उनको जोड छ । काम विशेषले परिवारलाई समय दिन नसकेकाहरुले पनि परिवार तथा आफन्तसँग बसेर समय व्यथित गर्ने अवसरका रुपमा लिनु पर्ने उनी बताउँछन् । रोगप्रतिरोधात्मक शक्ति बढाउने भिटामिन सि जन्य कागती, सुन्तला जस्ता फलफूल तथा खाद्यय पदार्थ खान सुझाव दिएका कलाकार गिरीले भ्रम फैल्याउने समाचारका पछि नलाग्न पनि आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *