कोरोना भाइरस : ‘डिसेम्बर’ मा नै सुरु भएकाे थियाे फ्रान्समा सङ्क्रमण

काठमाण्डौ – पेरिसमा गएको डिसेम्बर २७ मा एक बिरामीलाई निमोनिया भएको थियो तर उनका डाक्टरका अनुसार ती व्यक्ति वास्तवमा कोरोना भाइरसबाट सङ्क्रमित थिए । पेरिसको एभिसेन र जीन–वर्डियर अस्पतालका डाक्टर इभेन्स कोहेनले ती बिरामीको पहिलो लिइएको स्वाब भर्खर मात्रै कोरोनाको लागि जाँच गरिएको सञ्चारमाध्यमलाई बताए । अहिले रिपोर्ट पोजेटिभ आएको छ र ती बिरामी कोरोनाका बिरामी थिए भन्ने थाहा भएको उनले बताए ।

६० वर्षभन्दा बढी उमेरका ती बिरामी अहिले पूर्णरुपमा ठिक भइसकेका छन् । उनलाई कहाँबाट सङ्क्रमण भएको हो भन्नेबारेमा थाहा भएको छैन । ती व्यक्ति कहिल्यै पनि सङ्क्रमित स्थानमा गएका थिएनन् । अहिलेसम्मको जानकारीका अनुसार गएको वर्ष डिसेम्बर महिनामा चीनमा कोरोना भाइरसको सङ्क्रमण सुरुवात हुँदा चीनबाहेक अरु देशका सङ्क्रमण नपुगेको बताइने गरिएको थियो ।

फ्रान्समा पनि सङ्क्रमणको सुरुवात एक महिनापछि मात्र भएको मानिँदै आएको थियो । अहिलेसम्म फ्रान्समा पहिलो तीन जना कोरोना सङ्क्रमित गएको जनवरी २४ मा भेटिएको पुष्टि भएको थियो । ती सङ्क्रमितमध्ये दुई जना चीनको वुहानबाट फर्किएका थिए र तेस्रो व्यक्ति उनकै परिवारका थिए ।

यसबारेमा कसरी थाहा भयो ?

डाक्टर कोहेनले फ्रान्सको प्रसारणकर्ता बीएफएमटीभीसँगको कुराकानीमा आफूले डिसेम्बर र जनवरी महिनामा फ्लुजस्तो लक्षण देखिएका सबै बिरामीको फाइल फेरि एक पटक खोलेको र १४ जनाको स्वाबको टेस्ट लिएको बताए ।

उनी भन्छन्, ‘हामीले फेरि त्यस समय जाँच गरिएको स्वाबको जाँच गर्‍याै । १४ मध्ये एक बिरामीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आयो । केही गल्ती नहोस् भनेर हामीले फेरि दुई पटक परीक्षण गर्यौँ र प्रत्येक पटक रिपोर्ट पोजेटिभ आयो ।’

आफूले नेशनल हेल्थ एजेन्सीलाई यसबारेमा बताएको र अर्का भायरोलजिस्टलाई पनि उनको अस्पतालमा भर्ना भएका व्यक्तिहरुको फेरि स्वाबको परीक्षण गर्न माग गरेको कोहनले बताए । यो हप्ताको अन्त्यसम्ममा पूरै रिपोर्ट आउने र त्यसपछि इन्टरनेशनल जर्नल अफ् एन्टिमाइक्रोबिअल एजेन्ट्समा यसलाई प्रकाशित गरिने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *