कोरोना भाइरस नियन्‍त्रणमा ताइवान ‘विश्‍वमै अगाडि’

काठमाडौँ — कोरोना भाइरस(कोभिड–१९) को संक्रमण अहिले विश्वका लगभग सबै देशमा फैलिइसकेको छ । चीन, युरोप हुँदै यसले अहिले अमेरिकालाई आक्रान्त बनाएको छ । तर पनि केही देश भने पहिले नै सजगता अपनाएका कारण तुलनात्मक रुपमा कम प्रभावित छन् । गत जनवरी २५ मा चीनबाट तीव्र रुपमा फैलिइरहेको कोरोना भाइरसको संक्रमणको सम्भावित खतराबारे विश्वका धेरै मुुलुक अनभिज्ञ थिए। तर दुई मुलुक ताइवान र अस्ट्रेलियामा भने चार–चार जनामा संक्रमण पुष्टि भएको थियो।

अस्ट्रेलिया र ताइवानको जनंसख्या करिब–करिब बराबर(२ करोड ४० लाख) रहेको छ। दुवै टापु मुलुक पनि हुन्। र चीनसँग व्यापार र यातायातको सञ्जाल जोडिएका देश पनि। कोरोना संक्रमण पुष्टि भएको १० हप्तापछि भने दुई देशको अवस्था अलि भिन्‍न छ। यतिबेला अस्ट्रेलियामा ५ हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण देखिएको छ भने ताइवानमा ४ सयभन्दा कम संक्रमित छन्। आइतबार दिउँसाेसम्म ताइवानमा ३५५ जनामा संक्रमण पुष्टि भएको छ। त्यसमध्ये ५ जनाको मृत्यु भएको छ भने ५० जना निको भएका छन्।

यसो भन्दैमा अस्ट्रेलियाले सावधानी नअपनाएको भन्न नमिल्ने सीएनएनका पत्रकार जेम्स ग्रिफिथ्स बताउँछन्। उनी लेख्छन्, ‘अस्ट्रेलियाले नराम्रो गऱ्यो भन्ने होइन, २० देशमा अस्ट्रेलियामा भन्दा बढी संक्रमण फैलिएको छ। तीमध्ये सात वटा देशमा त अस्ट्रेलियामा भन्दा ७ गुणा बढी संक्रमित रहेका छन्।’ पत्रकार जेम्सले विश्वका अरु देशले नियन्त्रण गर्न नसकिरहेको कोरोना भाइरसको संक्रमण ताइवानले कसरी रोक्न सफल भइरहेको छ भनेर रिपोर्ट तयार पारेका छन्।

विगतको तीतो अनुभव ; पत्रकार जेम्स ताइवानले विगतमा भोगेका तीता अनुभवका कारण पनि कोरोना नियन्त्रणका लागि कडा कदम चालेको बताउँछन्। सन् २००३ मा सार्स(सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रम) को महामारीका बेला हङकङ, दक्षिणी चीनसँगै ताइवान पनि नराम्ररी प्रभावित भएको थियो। त्यतिबेला ताइवानमा १८१ जनाको मृत्यु भएको थियो। त्यस्तै एक लाख ५० हजारभन्दा बढीलाई क्वारेन्टाइनमा राखिएको थियो। सार्स संक्रमण र अहिलेको अवस्था भने अलि फरक छ। एसियाका धेरै देशले भविष्यमा महामारी आएका के कस्ता पूर्वसावधानी अपनाउनुपर्छ भन्ने पाठ सिकेका छन्।

ताइवानमा विश्वकै स्तरीय स्वास्थ्य सेवा रहेको छ। चिनियाँ नयाँ वर्षको संघारमा वुहानमा कोरोना भाइरसको संक्रमण फैलिनेबित्तिकै ताइवानको नेसनल हेल्थ कमान्ड सेन्टर(एनएचसीसी) सम्भावित खतराका लागि आवश्यक कदम चालिसकेको अमेरिकन मेडिकल एसोसियसनको जर्नलमा रिपोर्ट छापिएको छ। उक्त रिपोर्टमा ताइवानले द्रुत गतिमा पछिल्लो ५ हप्तामा १२४ वटा ‘आवश्यक कदम’ चालेको बताइएको छ। जर्नलमा ताइवानकी चिकित्सक जेसोन वाङ ताइवानले बोर्डर बन्द गरेर मात्रै नहुने देखेपछि अन्य कदम पनि चालेको बताउँछिन्।

अरु देश कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि कदम चाल्ने कि नचाल्ने भन्ने विवादमा अल्झिरहँदा ताइवान भने निकै अगाडि बढिसकेको थियो। जनवरीमा जोन होप्किन्स विश्वविद्यालयले गरेको एउटा अध्ययनमा चीनपछि ताइवान कोरोना भाइरस संक्रमणको ‘रेड जोन’ मा राखेको थियो। जोन होप्किन्स विश्वविद्यायलले चीनसँगको निकटता, सम्बन्धर यातायात सञ्जालका कारण ताइवानमा कोरोना संक्रमण तीव्र रुपमा फैलिन सक्ने अनुमान गरेको थियो। तर ताइवानले सुरुमै चीनका अधिकांश भूभागबाट आउने यात्रुमाथि प्रतिबन्ध लगाइहाल्यो। त्यस्तै कुनै पनि पानीजहाजलाई आफ्नो बन्दरगाहमा रोक्न नदिने निर्णय पनि गऱ्यो। साथै होम क्वारेन्टाइनको नियम पालना नगरे कडा सजाय दिने पनि घोषणा गऱ्यो।

त्यस्तै ताइवानले मुलुकमा मास्कको अभाव हुन नदिन मास्कको उत्पादन पनि बढाउने काम गऱ्यो। त्यस्तै मुलुकभर परीक्षण गर्ने, पुन: परीक्षण गर्ने, पहिले निमोनियाजस्तै रोग लागेका र जानकारी नदिने व्यक्तिलाई कडा सजाय दिनेजस्ता कदम पनि अगाडि बढायो।

साथै कोरोना संक्रमण रोकथामका लागि ताइवानले द्रुत गतिमा चालेको पारदर्शी कदम र दैनिक रुपमा स्वास्थ्य अधिकारीलेहरु पछिल्लो अवस्थाका बारेमा जानकारी गराउनेजस्ता क्रियाकलापले महामारीका बेलामा पनि प्रजातान्त्रिक तवरले सरकार चलाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको पत्रकार जेम्स लेख्छन्।

पछिल्लो अवस्थामा ताइवानसँग घरेलु आवश्यकताका लागि पर्याप्त मात्रामा मास्क रहेको छ। बुधबार ताइवान सरकारले एक करोड मास्क विभिन्न देशलाई सहयोगस्वरुप उपलब्ध गराउने पनि घोषणा गरेको छ। अमेरिका, इटाली, स्पेन, अरु ९ वटा युरोपेली मुलुक र ताइवानसँग मैत्रीपूर्ण सम्बन्ध भएका अरु देशलाई ताइवानले ती मास्क सहयोग गर्ने भएको हो।

‘महामारी राजनीति’ : कतिपय विश्लेषकले विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले ताइवानलाई बेवास्ता गर्दा बाँकी विश्वले मूल्य चुकाउनु परेको पनि बताउँछन्।अमेरिकी पत्रिका द नेसनको अनलाइन संस्करणमा विल्फ्रेड चान लेख्छन्, ‘कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लाति विश्वका कुनै पनि मुलुकभन्दा पहिले ताइवान तयार थियो। तर डब्लूएचओले पहिले राजनीतिलाई प्राथमिकता दियो।’

जनवरी र फेब्रुअरीमा ताइवानले चालेका कदमबारे धेरै पश्चिमा मुलुकहरु अनभिज्ञ पनि थिए। ताइवानमा के भइरहेको छ भन्नेबारे अन्य मुलुकलाई डब्लूएचओले जानकारी गराउने कुरै भएन। किनकी ताइवान डब्लूएचओको सदस्य राष्ट्र होइन।

चीनले ताइवान आफ्नो भूभाग भएको बताउँदै आएको छ। जबसम्म ताइवानले ‘एक चीन नीति’ स्वीकार नगरेसम्म अन्तर्राष्टिय संगठनहरुमा आबद्ध हुन नदिने अडान चीनले दोहोऱ्याउँदै आइरहेको छ। चीनकै दबाबमा ताइपेइले ‘चाइनिज ताइपेई’ का रुपमा ओलम्पिकमा सहभागिता जनाएको छ। सन् २०१६ सम्म त ताइवान डब्लूएचओको पर्यवक्षक सदस्यका रुपमा रहेको थियो। साई इङ वेन राष्ट्रपतिमा निर्वाचित भएसँगै ताइवान डब्लूएचओको पर्यवक्षक राष्ट्रका रुपबाट समेत बाहिरियो। डब्लूएचओले भने ताइवान सदस्य राष्ट्र नभएकैले स्वास्थ्यसम्बन्धी सूचना आदानप्रदानमा कुनै समस्या नभएको बताउँदै आएको छ। तर धेरै पर्यवेक्षकहरुले विश्व स्वास्थ्य संगठनले ताइवानसँग समन्वय नगर्दा सार्स र कोरोना महामारीका बेला नकारात्मक असर देखिएको बताएका छन्।

अहिले पनि कोरोना भाइरस संक्रमणका बारेमा डब्लूएचओको तथ्याङ्क र सहयोग नपाएको चीन र ताइवान मामिलाकी जानकार अस्ट्रेलियाको लोवी इन्स्टिच्युटकी नताशा कसाम बताउँछिन्। सूचनामा पहुँच नहुँदा ताइवानले पहिले नै निर्णय गर्न बाध्य भएको पनि नताशा बताउँछिन्।

त्यस्तै ताइवानले आफ्ना चिकित्सक र मेडिकल सामग्री बाँकी विश्वमा पठाउन चाहेको बताउँदै आएको छ। तर डब्लूएचओ बाहिर रहेकाले कोरोना भाइरसको संक्रमण रोकथामका लागि मुलुकभन्दा बाहिर प्रभावकारी भूमिका खेल्न सकेको छैन। ‘हामी सहयोग गर्न चाहन्छौँ, कुनै देशलाई आवश्यक भएमा हामीले हाम्रा दक्ष चिकित्सक, अनुसन्धानकर्ता र नर्सहरु पठाउन चाहन्छौं,’ जोन होप्किन्स विश्वविद्यायलयबाट संक्रामक रोगमा विशेषज्ञता हासिल गरेका ताइवानका उपराष्ट्रपति डाक्टर चेन चियनजेनले गत हप्ता भनेका थिए। उनले आफूहरुले योगदान गर्न चाहेर पनि नसकेको गुनासो गरेका थिए।

त्यस्तै गत हप्ता मात्रै हङकङको एउटा टेलिभिजनसँगको अन्तर्वार्तामा डब्लूएचओका सहायक महानिर्देशक ब्रुस एलवार्डलाई ताइवानसम्बन्धी प्रश्न सोध्दा इन्टरनेटको समस्या भउको भन्दै उत्तर दिन हिच्किचाएका थिए। कोरोना रोकथामका लागि ताइवानले चालेको कदमबा बारेमा के भन्नुहुन्छ भन्ने प्रश्नमा उनले सबै कुरा ‘चीनबाट थाहा पाइरहेको’ बताएका थिए। तर उनले ताइवानको नामै लिएर टिप्पणी गर्न भने मानेनन्। त्यसको केही समयपछि ताइवानको विदेश मन्त्रालयले त्यो अन्तर्वार्ताको क्लिपसहित ट्वीट गऱ्यो, ‘ओहो !, डब्लूएचओमा ‘ताइवान’ उच्चारण गर्न पनि पाइँदैन। महामारीसँग लड्नका लागि राजनीतिलाई अलग राख्नैपर्छ।’

अहिलेको अवस्थामा राजनीति गर्नुभन्दा पनि विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि ताइवानसँग भएको दक्ष जनशक्ति र स्रोतसाधनको सहयोग लिन पर्ने देखिन्छ। -सीएनएन र अन्य एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *