कोरोना मुक्तिको कामना गर्दै जोमसोम विमानस्थलमा बुद्ध पूजा

जोमसोम : कोरोना मुक्तिको कामना गर्दै मुस्ताङको जोमसोम विमानस्थल गेट नजिक बुद्ध पूजा सम्पन्न भएको छ । २५६४ औं बुद्ध जयन्तीका अवसरमा घरपझोङ-३ स्थित पुथाङ आमा समूहले विमानस्थलको मुख्य प्रवेशद्वार अगाडि बुद्ध पूजा गरेका हुन् ।

बुद्धधर्मालम्बीहरुको बाहुल्यता रहेको हिमाली जिल्ला मुस्ताङका अधिकांश स्थानीयले बुद्ध धर्म मान्ने गर्छन्। बुद्धिस कला संस्कृतिले महत्वपूर्ण मानिएको मुस्ताङमा यसपटक भने बुद्ध जयन्तीको खासै रौनक देखिएन ।

पूथाङ एअरपोर्टका आमा समूहले लामा राखेर बुद्ध जयन्ती मनाएको समूहकी अध्यक्ष पूर्ण गौचनले जानकारी दिईन् । विश्व व्यापी माहामारीको रुपमा निम्तिएको कोरोना भाईरस कोभिड-१९ को भयावह अवस्थाबाट मुक्ति मिलोस् भन्ने प्रार्थना गर्दै लामाबाट पूजापाठ भएको समूहकी अध्यक्ष गौचनले उल्लेख गरिन् ।

विमानस्थलको मुख्यद्धारमा स्थानीय लामा छम्ब ङवाङ गुरुङले बुद्धिस परम्परा अनुसरा धार्मिक पुजापाठ गरेका थिए । पुजामा पुथाङ एअरपोर्ट आसपासका पर्यटन व्यवसायी ,गाउँ समाज र समूहका सदस्यले बुद्ध जयन्ती मनाएका हुन् ।

कोरोना नियन्त्रणका लागि लगाईएको डेढ महिना लामो लक डाउनले नेपालको पर्यटन व्यवसायी धरासयी अवस्थामा छ । हिउँदयाम सकिएर गर्मीयाम सुरुआत भएलगत्तै मुस्ताङ पर्यटन व्यवसायमा व्यापक चहल पहल हुने गथ्र्यो ।

तर ,कोरनाका कारण यसपटक मुस्ताङको पर्यटन व्यवसाय सुन्य अवस्थामा छ । हवाई सेवा मार्फत वार्षिक करिव ६० हजार विदेशी पर्यटक भित्रिने मुस्ताङमा लक डाउनले हवाई सेवा ठप्प भएको हो । यातायातका साधन संञ्चालन नहुदा आन्तरिक पर्यटक समेत मुस्ताङ आउन सकेका छैनन् ।

कोरोना त्रास विर्सजन भई साविककै अवस्थामा पर्यटन व्यवसाय लयमा फर्कियोस भन्ने कामना सहित पुथाङबासीले एयरपोर्टको मुल गेटमै पूजाआजा गरेको होटल ताजका संञ्चालक योगेश शेरचनले बताए । कोरोना कहरले पर्यटन क्षेत्रसँगै कृषि क्षेत्रलाई समेत असर पुर‍्‍याएको शेरचनको भनाई छ ।

बर्सेनि बुद्ध जयन्तीका दिन घुइँचो लाग्ने मुक्तिनाथ मन्दिर यसपटक भने सुनसान भएको छ ।मुक्तिनाथको दर्शन र मुक्तिनाथमा बत्ती बाल्न जाने स्थानीयको भीडभाड लाग्थ्यो । यसपटक सरकारले सार्वजनिक स्थानमा भीडभाडका कार्यक्रम गर्न निषेध गरिएपछि मुक्तिनाथ मन्दिर सुनसान बनेको हो ।

उपल्लो मुस्ताङदेखि तल्लो मुस्ताङमा अवस्थित गुम्बाहरुमा बुद्ध जयन्तीका दिन भव्य पूजाआजा हुन्थ्यो । गाउँका गुम्बामा रहेका बुद्धका पुस्तक पूजाआजासहित लामा र गाउँले मिलेर गाउँ घुमाइन्थ्यो। घुमाइएका पुस्तकलाई स्थानीयले ढोगेर आर्शिवाद लिन्थे । यसपटक कोरोनाका कारण त्यो सदियौंको चलन रोकिएको छ ।

यसपटक स्थानीयले बुद्ध जयन्ती घरमै सामान्य पूजापाठ गरी मनाइरहेका छन् । गुम्बामा अनौपचारिक रुपमा लामाहरुले पूजापाठ गरेपनि सर्वसाधारणको उपस्थित देखिएन । मुस्ताङमा झन्डै एक दर्जन बढी बुद्धिस गुम्बा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *