कोरोना विरामी डिस्चार्ज : स्वास्थ्यकर्मीलाई प्रधानमन्‍त्रीको बधाई

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरस (कोभिड-१९) संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई बधाई दिएका छन्। शनिबार कोरोना भाइरसबाट संक्रमित दोस्रो विरामीको डिस्चार्ज भएको खबर थाहा पाए लगत्तै प्रधानमन्त्री ओलीले स्वास्थ्यकर्मीलाई बधाई दिएका हुन्।

ओलीले ट्वीटरमार्फत् डिस्चार्ज भएकी बिरामीको आरोग्यताको कामना गर्दै उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई बधाई दिएका हुन्। ‘कोरोना भाइरसबाट संक्रमित दोस्रो विरामी आज पूर्ण स्वस्थ भई अस्पतालबाट डिस्चार्ज हुनुभएको छ’, प्रधानमन्त्री ओलीले ट्वीटमा लेखेका छन्, ‘उहाँको आरोग्यताको कामनासहित उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा संबद्ध सबैलाई बधाई तथा धन्यवाद।’

दोस्रो कोरोना बिरामी युवती कोरोनासँगको २७ दिन लामो लडाईंलाई जितेर शनिबार घर फर्किएकी हुन्। डिस्चार्ज भएसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किने उनी दोस्रो व्यक्ति हुन्। यसअघि गत माघ ९ गते पहिलो पटक नेपालमा कोरोना देखिएका युवकको डिस्चार्ज भएको थियो। अहिलेसम्म नेपालमा ३० जनामा कोरोना पुष्टि भएको छ।

शनिबार डिस्चार्ज भएकी युवती स्वास्थ्य जाँचका लागि चैत ९ गते टेकु अस्पताल पुगेकी थिइन्। उनमा चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएको थियो। उनी पूर्ण निको भएर डिस्चार्ज भएकी हुन्। उनी चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी हुन्।

उनीसँगै कतार एयरवेजको क्यूआर ६५२ जहाजमा नेपाल आएका बागलुङका दुईजना कोरोना संक्रमण देखिएको थियो। उनीहरुको धौलागिरी अस्पतालमा उपचार भइरहेको छ।

कोरोना संक्रमितमध्ये १२ जनाको विराटनगरस्थित कोरोना अस्पताल, पाँच जनाको कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल, चार जनाको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार हुँदैछ। अन्य सात जनामध्ये एकको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकु र ६ जनाको पाटन अस्पताल, लगनखेल र धौलागिरी अस्पताल, बागलुङ र भरतपुर कोभिड–१९ डायग्नोस्टिक प्रयोगशाला, चितवनमा दुईदुई जनाको उपचार भइराखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *