कोरोना संक्रमणबाट म भाग्यले बाँचेको हुँ : बेलायती प्रधानमन्त्री

कोरोना संक्रमित बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले उपचारका क्रममा आफूलाई बचाउन लिटरका लिटर अक्सिजन दिएर बचाइएको र आफू भाग्यले बाँचेको बताएका छन्‌।

मार्च २६ तारिखमा गरिएको परीक्षणका क्रममा प्रधानमन्त्री जोन्सन कोरोना संक्रमित रहेको पुष्टि भएको थियो। संक्रमणका कारण जटिल अवस्थामा पुगेपछि आफूलाई बचाउन चिकित्सकहरुले उपचारका लागि आकस्मिक योजना बनाएको पनि उनले खुलासा गरेका छन्।

आज एक अन्तरवार्ता दिँदै जोन्सनले आफूलाई जीवितै राख्न चिकित्सकहरुले लिटरका लिटर अक्सिजन दिएको र सेन्ट थोमस अस्पतालले बचाउन सक्दो प्रयास गरेको जानकारी दिएका हुन्।

बोरिसले भनेका छन्, ‘सूचकले निकै खराबी देखाइरहेको थियो, मेरो स्वास्थ्य गलत दिशातिर गइरहेको थियो। म निकै दुर्बल अवस्थामा पुगिसकेको थिएँ। म कसरी अहिले सहज अवस्थामा आइपुगेँ भनि आफैंलाई सोधिरहेको छु।’

अप्रिल २६ मा गरिएको जोन्सनलाई कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएपछि १० दिनसम्मा आइसोलेसनमा बसेका उनको स्वास्थ्यअवस्था गम्भीर भएपछि अस्पताल भर्ना गरिएको थियो। चिकित्सकहरुले उनलाई इन्टेन्सिभ केयर युनिट (आइसीयु) मा राखी उपचार थालेका थिए।

‘मेरो स्वास्थ्य केही दिनभित्रै निकै खराब अवस्थामा पुगेको थियो, मलाई यो विश्वास गर्न नै गाह्रो भइरहेको थियो,’ जोन्सनले भनेका छन्, ‘मेरो स्वास्थ्यमा त्यो भन्दा पनि खराब अवस्था देखिए के गर्ने भन्नेबारे चिकित्सकहरुले सबै विकल्प अपनाएका थिए।’उपचारपश्चात निको भएका बेलायती प्रधानमन्त्री जोन्सनले आफू निकै भाग्यमानी रहेको पनि सो अन्तरवार्ताका क्रममा उल्लेख गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *