कोरोना संक्रमण नियन्त्रणका लागि गृह मन्त्रालयद्वारा ४ छुट्टाछुट्टै कार्यदल गठन

काठमाडौं, २७ चैत । गृह मन्त्रालयले कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि केन्द्रदेखि स्थानीय तहसम्म भएका कामको समीक्षा र थप रणनीति बनाउन ४ छुट्टाछुट्टै कार्यदल गठन गरेको छ ।

गृहमन्त्री रामबहादुर थापाले ४ जना सहसचिवको नेतृत्वमा ४ वटा कार्यदल गठन गर्नुभएको हो । कार्यदल अन्तर्गत नै ’क्लस्टर’ तोकेर १४ जना उपसचिवहरुलाई पनि खटाइएको छ ।

सहसचिव रामप्रसाद आचार्यको संयोजकत्वमा शान्ति सुरक्षा र सीमा व्यवस्थापन तथा नियन्त्रणसम्बन्धी कार्यदल बनाइएको छ । त्यस्तै इन्दू घिमिरेको नेतृत्वमा प्रतिवेदन लेखन तथा सूचना व्यवस्थापन, पुष्कर सापकोटाको नेतृत्वमा स्वास्थ्योपचार र परीक्षण व्यवस्थापन तथा संरक्षण र नारायणप्रसाद भट्टको नेतृत्वमा आपूर्ति, कारागार तथा राहत व्यवस्थापन सम्बन्धी जिम्मा दिइएको छ ।

कार्यदलले सम्बन्धित मन्त्रालयहरुसंग समन्वय गरेर काम गर्नेछन् । आवश्यकता अनुसार अन्य मन्त्रालयका अधिकारीलाई पनि कार्यदलमा आमन्त्रित सदस्यका रुपमा बोलाउन सकिने अधिकार दिइएको छ ।

गृह मन्त्रालयका अनुसार संघ, प्रदेश र स्थानीय सरकारबाट कोरोना रोकथाम तथा नियन्त्रण एवं लकडाउन कार्यान्वयनका लागि गरिएका प्रयासको एकीकृत तथ्यांक निर्माणदेखि थप रणनीति बनाउन सुझाव दिने गरी कार्यदल गठन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *