क्वरेण्टीनमा बसेका ७ जनालाई वडाध्यक्षहरुले घर पठाए

गोरखा – जिल्लाको शहीद लखन गाउँपालिका वडा नम्बर ७ को एक विद्यालयमा बनाइएको क्वरेण्टीनमा बसेका ७ जनालाई वडाध्यक्षहरुले घर पठाइदिएका छन् । वडा नम्बर ७ का अध्यक्ष शरण श्रेष्ठ र वडा नम्बर ८ का अध्यक्ष काशीनाथ अंगाईले उनीहरुलाई घर पठाइदिनुभएको हो । शहीद स्मृति माध्यमिक विद्यालयमा बनाइएको क्वरेण्टीनमा बसेका ७ जनालाई शनिबार दिउँसो घर पठाइएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

माविको क्वरेण्टीनमा बैशाख ३ गते हेटौँडाबाट आएका ५ जना र बैशाख ५ गते काठमाण्डौबाट आएका दुई जना बस्दै आएका थिए । उनीहरुको क्वरेण्टीनमा बस्ने अवधि बाँकी थियो ।

क्वरेण्टीन सञ्चालनका विषयमा विवाद भएपछि उनीहरुलाई होम क्वरेण्टीनमा बस्नेगरी घर पठाइएको श्रेष्ठको भनाइ छ । होम क्वरेण्टीनमा पठाइएका सातै जनाको अवस्था सामान्य रहेको श्रेष्ठले भन्नुभयो ।

गाउँपालिका अध्यक्ष रमेश थापामगरले भने बाहिरबाट आएकालाई क्वरेण्टीनमा राख्ने पालिकाको निर्णयविपरीत उनीहरुलाई घर पठाउनु गलत भएको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थानीय नेता उत्तरकुमार श्रेष्ठले वडाध्यक्षहरुले पटक पटक बाहिर आउजाउ गरेको भन्दै उनीहरुलाई पनि क्वरेण्टीनमा राख्नुपर्ने भन्दै फेसबुकमा लेख्नुभएको थियो ।

‘हामी विभिन्न कामले आउजाउ गरिरहनुपर्छ । आज मात्रै मैले बजारबाट किनेर ल्याएको १० जनाको औषधि घरघरमा पु¥याइदिएको छु,’ वडाध्यक्ष शरण श्रेष्ठले भन्नुभयो, ‘व्यक्तिगत गालीगलौजमा उत्रिएर सामाजिक सञ्जालमा लेखन थालेपछि सहन सकिएन । क्वरेण्टीनमा बसेकालाई घर पठाइदिएका हौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *