क्‍वारेन्टाइनमा राखिएका २२ जनालाई परीक्षणबिनै घर पठाइयो

जाजरकोट : भारतबाट आएर क्वारेन्टाइनमा राखिएका जाजरकोट जुनीचाँदेका २२ जनालाई परीक्षबिनै घर पठाइएको छ । भारतबाट गत चैत्र ९ र १० गते आएका जुनीचाँदेको २, ३ र ९ नम्बर वडाका बासिन्दालाई स्वाब परीक्षणबिनै शनिबार घर पठाइएको हो ।

स्थानीय स्वास्थ्यकर्मीले सामान्य ज्वरो नापेर लक्षण केही नभएको भन्दै घर पठाएका हुन् । प्रहरीका अनुसार लकडाउनकै अवधीमा भारतबाट ६४, कतारबाट दुईजना र मलेसियाबाट एकजना आएका छन् । तीमध्ये वडा नम्बर ११ स्थित एक विद्यालयमा रहेको अस्थायी क्वारेन्टाइनमा एकजना कतार र चारजना भारतबाट आएका मात्रलाई राखिएको जिल्ला प्रहरी प्रमुख डीएसपी किशोरकुमार श्रेष्ठले बताए । स्वास्थ्यकर्मीले चेकजाँच गर्दा अवस्था सामान्य देखिपछि विद्यालयकै क्वारेन्टाइनमा राखिएका २२ जना घर पठाइएको डीएसपी श्रेष्ठले बताए ।

अन्य सबैलाई होम क्वारेन्टाइनमा बस्न निर्देशन दिइएको छ।तर उनीहरु क्वारेन्टाइनमा बसे नबसेको अनुगमन गर्ने संयन्त्र नहुँदा होम क्वारेन्टाइन प्रभावकारी नहुने हो कि भन्ने चिन्ता देखिएको जुनीचाँदे गाँउपालिका ५ का प्रकाश शाहीले बताए ।
‘भारत(कालापार)बाट धमाधम मानिस परीक्षणबिनै गाउँ भित्रिएका छन् । गाउँमा स्वाब(नमूना) संकलन गर्ने व्यवस्था पनि छैन । ज्वरो आएको छैन भने सामान्य अवस्था छ भन्दै घर पठाउने गरिएको छ,’ उनले भने, ‘संक्रमण भए नभएको प्रयोगशालामा परीक्षण नगर्दा जोखिम बढ्ने देखिन्छ ।तसर्थ सरकारले सबैलाई द्रूत मार्गबाट परीक्षणको व्यवस्था मिलाउनु पर्छ ।’

भारत र अन्य मुलुकबाट लकडाउनकै अवधीमा दुई सय ३० जना भित्रिएको प्रहरीको तथ्यांकमा उल्लेख छ । ती सबैलाई स्थानीय सरकार र प्रहरीले होम क्वारेन्टाइनमा बस्न आग्रह गरेपनि नमान्दा जोखिम बढ्ने देखिएको छ । कारोना संक्रमण भएन भएको एकिन गर्न स्वाब संकलन गरी पठाउने व्यवस्था जिल्लामै नहुँदा थप जटिलता देखिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *