खगोलविद् भन्छन् – दुर्लभ ग्रहणपछि फैलिएको कोरोनाभाइरस नियन्त्रणमा आउन अर्काे सूर्य ग्रहण लाग्नु पर्छ

ज्यो. सुरेश चन्द्र रिजाल, काठमाडौं । संसारभर महामारीका रुपमा फैलिएको नोभेल कोरोनाभाइरस (कोभिड १९)बाट लाखौं मानिसहरू प्रभावित भइरहेका छन् । यसबाट मृत्युु हुनेको सङ्ख्या पनि दिन प्रतिदिन बढिरहेको छ । करिब दुई महिना अघि चीनको हुबेइ प्रान्तको वुहानबाट उक्त भाइरस फैलिएको थियो । हालसम्म कोरोनाभाइरसविरुद्धको खोप वा औषधि पत्ता लाग्ने सकेको छैन ।

चीन आउँदो अप्रिलसम्ममा खोप ल्याउने दाबी गरेको छ । तर, अहिले यसले महामारीको रुप लिइरहेको छ । आइतबार बिहानसम्म आएको तथ्यांक अनुसार १०२ देशमा यसको संक्रमण फैलिएको छ र ३५ सयबढी मानिसको मृत्यु भइसकेको छ । हजारौं मानिस निको भएर उपचारपछि घर पनि फर्केका छन् ।

तर, कोरोनाभाइरसले विश्वलाई चुनौती भने दिइरहेको छ । संसारकै ख्याती प्राप्त वैज्ञानिकहरुले उक्त भाइरसको अनुसन्धान गरिरहेका छन् । वैज्ञानिक जस्तै ब्रह्माण्ड सम्बन्धी अनुसन्धान गर्ने खगोलविद् र ज्योतिषीहरु पनि यसबारे अध्ययन अनुसन्धान गरिरहेका छन् । खगोलविदहरुले विभिन्न तरिकाबाट अनुसन्धान गरिरहँदा लामो समयदेखि खगोल तथा ज्योतिषका क्षेत्रमा काम गर्दै आएका ज्योतिषी पुरुषोत्तम पौडेलले ग्रहहरुबाट आउने नकारात्मक शक्ति पृथ्वीमा परिरहेकाले यस्तो प्रभाव र महामारी फैलिएको क्यानडानेपाललाई जानकारी दिए ।

गत डिसेम्बर २६ तारिखमा लागेको इतिहासकै दुर्लभ मानिने सूर्यग्रहण लागेपछि उक्त नकारात्मक शक्ति पृथ्वीमा सूर्यको किरणबाट आएको हो । सू्र्यले आफ्नो सौर्य परिवारको परिक्रमा गर्ने क्रममा राहु र केतु ग्रह सूर्यको नजिकै आउँदा नकारात्मक शक्ति सूर्यको किरणद्वार पृथ्वीमा आउँछ । हरेक समयमा लाग्ने ग्रहणको छुट्टाछुट्टै महत्त्व र प्रभाव रहने खगोलविद्हरुले जानकारी दिएका छन् । पूर्ण रुपमा यसको प्रभाव कम हुनका लागि अर्काे सूर्य ग्रहण लाग्नु पर्ने उनीहरुको भनाइ छ । २०७७ साल असार ७ गते (जुन २१ सन् २०२०) मा सूर्य ग्रहण लाग्न लागेको छ, उक्त सूर्य ग्रहण लागे पछि मात्रै यसको समाधान हुने समेत अनुसन्धानमा लागेका खगोल विद्हरुले जानकारी गराएका छन् ।

प्रकृतिबाट सुरु भएको उक्त भाइरस प्रकृतिले नै समाधान निकाल्ने छ । विश्वभरका वैज्ञानिकहरुका लागि जुन सम्म मेहनत गर्नु पर्ने देखिएको छ । दक्षिण तथा पश्चिमी देशहरुबाट यसको समाधान निस्कने छ । यसबाट बच्नका लागि चिकित्सकको सल्लाह अनुसार सुरक्षित रहेर बस्नु बाहेक कुनै विकल्प नरहेको खगोलविद्हरुले जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *