गरिबलाई बाड्ने राहतमा समेत कमिशनको गन्ध !

बारा २५ चैत । गरिब जनता भोक-भोकै रहँदा प्रसौनी गाउँपालिकाका अध्यक्ष भोला गुप्ता भने गरिबलाई बाड्ने राहतमा समेत आँखा गाडिरहेका छन् । बाराको प्रसौनी गाउँपालिकाले राहत वितरणका लागि आव्हान गरेको कोटेशनमा गाउँपालिकाका अध्यक्षकै सम्लग्नता देखिएकोछ ।

अध्यक्ष गुप्ताले विभिन्न राइस मिलबाट कोटेशनका लागि लेटर प्याड संकलन गरी स्थानीय शिवप्रसाद कलवार मार्फत दुई चार पैसा फरक पारेर कोटेशन हाल्न लगाएका छन् । आव्हान भएका सवै कोटेशनमा समान मूल्या छैन, केवल टेण्डरका लागि दुईचार पैसा मात्र तलमाथि गरेको देखिन्छ ।

न्यू रोशन राइस मिलको लेटरप्याडमा चामल प्रतिकेजी ४६ रुपैयाँ, दाल प्रतिकेजी ११९ रुपैयाँ उल्लेख गरिएको छ भने अर्को श्री शिव पार्वती ट्रेड एण्ड सप्लायर्सको लेटरप्याडमा चामल प्रतिकेजी ४५.९० पैसा र दाल प्रतिकेजी ११८ रुपैयाँ उल्लेख गरिएको छ । शिव पार्वतीको सञ्चालक उनै गाउँपालिकाका अध्यक्ष भोला गुप्ता हुन् ।

प्रसौनी गाउँपालिकाले चैत्र १९ गते दरभाउ पेश गर्न कोटेशन आव्हान गरेको थियो । बजार मूल्य भन्दा बढिमा सम्झौता हुन लागेको स्थानीयले थाहा पाएपछि उक्त कोटेशन कुनै सूचना विनानै च्यातिएको श्रोतले जनाएको छ ।

पहिलो प्रयास असफल भएपछि अहिले गाउँपालिकाका अध्यक्षले न्यू रोशन राइस मिलसँग ४२ रुपैयाँमा सम्झौता गरिसकेको निर्धक्क पत्रकारलाई बताइरहेका छन् । तर उनले सम्झौता गरेको भनिएको रोशन राइस मिलका सञ्चालकसँग सम्पर्क गर्दा हालसम्म सम्झौता नभएको जानकारी दिए ।

यता न्यू रोशन राइस मिलका सञ्चालक मुन्ना प्रसाद कलवारले भने ‘आजको मितिसम्म कुनै सम्झौता गरिएको छैन । हामीसँग एक पटक कुरा भएको हो, ल हामी खबर गर्छौ भने, तर अहिलेसम्म खबर आको छैन, सम्झौता हुने कुरै भएन’ मुन्नाले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *